काठमाडौं, १० पुस । पार्टीभित्रैबाट कांग्रेस नेतृत्वको चर्को आलोचना भएको छ । नेताहरूले मूल नेतृत्व सिद्धान्त विपरीत चलेको, आफ्नो स्वार्थ अनुसार पार्टीलाई प्रयोग गरेको र नैतिकता हराउँदै गएको आरोप समेत लगाएका छन् ।
राजधानीमा आयोजित कांग्रेस जिल्ला कोषाध्यक्षहरूको सम्मेलनको बन्द सत्रमा नेताहरूले नेतृत्व व्यक्तिवादी हुँदा राष्ट्रिय मुद्दामा निर्णय लिँदासमेत पार्टीभित्र छलफल हुन छाडेको बताए । राजधानी दैनिकले समाचार छापेको छ ।
नेतृत्वकै कमजोरीका कारण पार्टीको छविसमेत धुमिल हुँदै गएको उनीहरूको जिकिर छ । बन्दसत्रमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको सिद्धान्त राम्रो भए पनि नेतृत्वले मूल्य, मान्यता र आदर्श बिर्संदा पार्टी जनताका बीचमा आलोचित भइरहेको बताए । उनले नेतृत्वले पार्टीलाई आफ्नो स्वार्थअनुसार प्रयोग गरेको समेत आरोप लगाएका थिए । ‘पार्टीभित्र नैतिकता हराउँदै गएको छ, स्वार्थका लागि पार्टीलाई प्रयोग गर्ने संस्कार बढेर गएको छ,’ नेता पौडेलले भने ।
उनले कांग्रेसको सिद्धान्तमा पार्टीलाई हिँडाउन सके मात्र पार्टीको विजय सुनिश्चित हुने दाबी गर्दै सभापति शेरबहादुर देउवालाई गुटबन्दी तोड्ने हिम्मत गर्न चुनौतीसमेत दिए । ‘पार्टीभित्र गुटबन्दी भयो भन्दै भाषण गर्ने गरिएको छ,’ सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले भने, ‘दुई चारजना नेता बोकेर हिँड््नुभन्दा पार्टीको नेता बन्नु उचित हो ।’ उनले पार्टीभित्र त्याग र कामका आधारमा मूल्यांकन गर्ने परिपाटी बसे मात्र गुटउपगुट समाप्त हुँदै जाने र एकता कायम हुने बताए ।
पौडेलले संविधान जारी गर्दाका बखत एक भएका प्रमुख राजनीतिक दल कार्यान्वयनमा पनि एक हुनुपर्ने बताए । पौडेलले संविधान संशोधन विधेयक ल्याउनुअघि नेकपा एमालेसँग छलफल गरौं भनेर आफूले प्रधानमन्त्री र आफ्नो पार्टी सभापतिसँग भनेको तर आफ्नो सल्लाह नमानेर हतारमा प्रस्ताव अगाडि बढाउँदा समस्या उत्पन्न भएको बताए ।
सम्मेलनमा कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले १३औं महाधिवेशनलाई देशभरका कार्यकर्ताले एकता महाधिवेशनका रूपमा लिएको तर अहिले गुट उपगुट मौलाउँदा कार्यकर्तामा निराशा छाएको बताइन् । कञ्चनपुरका कोषाध्यक्ष शंकरबहादुर चन्दले विगतमा पार्टीमा महŒवपूर्ण भूमिका निर्वाह गरेका आधारमा नेतृत्वले जिम्मेवारी नदिँदा पार्टीमा गुटबन्दी मौलाएको बताए । उनले महाधिवेशनमा प्राप्त मत परिणामलाई मात्र आधार मानेर भागबन्डा गर्दा पार्टी नै दुर्घटनामा पर्ने चेतावनी दिए ।
कार्यक्रममा जिल्लामा पार्टी सञ्चालनका लागि अर्थ संकलन र पार्टीका क्रियाशील सदस्यबाट उठाउने लेबीलगायत विषयमा छलफल भएको नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
कांग्रेस पार्टी कार्यालयका पूर्वमुख्य सचिव शोभाकर पराजुलीले पार्टी बलियो भए मात्र जनताको मन जित्न सकिने बताए । उनले कुनै पनि विषयमा निर्णय लिँदा विगतका जिम्मेवारीलाई समेत ख्याल गर्नुपर्ने बताए ।
शुक्रबारबाट सुरु भएको सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ । घोषणापत्रमा ७ माघ, ०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने, संवैधानिक प्रावधान अनुरूप नेपाली कांग्रेसको नेतृत्वमा तराई मधेसलगायत देशका विभिन्न भागमा देखिएका गतिरोधको अन्त्य गरिनुपर्नेलगायत विषय समावेश गरिएको छ ।














प्रतिक्रिया