१२ कार्तिक २०८३, बिहिबार

नेपालमा किन चिनियाँ चासो बढ्दैछ ? एक सातामै काठमाडौंमा चार टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि हरेक महिनाजसो चिनियाँ टोलीले नेपाल भ्रमण गरिरहेको छ । गत १९ साउनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गरी दाहालले सत्तारोहण गरेसँगै नेपालप्रति चिनियाँ चासो थप बढ्दै गएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता कार्यान्वयन नै चिनियाँ पक्षको प्रमुख चासोको रूपमा रहँदै आएको छ । दाहाल प्रधानमन्त्री हुनासाथ चीनले यस विषयमा चासो व्यक्त गर्दै दाहाल नेतृत्वको सरकारसँग पनि पहिलेकै जस्तो सम्बन्ध रहने प्रतिक्रिया दिएको थियो ।

प्रधानमन्त्री दाहाल निर्वाचित भएकै दिन लाजिम्पाट पुगेर तत्कालीन चिनियाँ राजदूत वु चुन्ताईले सबैभन्दा पहिले बधाईसहित पुष्पगुच्छा दिएका थिए । पछिल्लो साता मात्र चारवटा चिनियाँ टोलीले नेपालको भ्रमण ग-यो । यसले पनि नेपालप्रति चीनको बढ्दो चासोलाई देखाउँछ ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिबाओले नेतृत्व गरेको ३२ सदस्यीय प्रतिनिधि मण्डल गत मंगलबार स्वदेश फर्कियो । नेपाल बसाइका क्रममा यो टोलीले देशका प्रमुख राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग भेट गरेको थियो ।

सो टोली फर्किएको अर्को दिन बुधबार चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष बाइ मा चिलिन नेतृत्वको टोली बुधबार काठमाडौं आएको छ । चिलिन नेतृत्वको १८ सदस्यीय टोली सभामुख ओनसरी घर्ती मगरको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणमा आएको हो ।

भ्रमणटोलीले चीन सरकारले भर्खरै लागू गरेको १३औं पञ्चवर्षीय विकास आयोजनामा समेटिएको रेल्वे, सडक यातायातलगायत पूर्वाधार विकासका प्रयास ओबीओआरअन्तर्गत दक्षिण एसियालाई जोड्नका लागि भएको भन्दै यसबाट नेपालले पनि फाइदा लिनुपर्ने संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेसँगको भेटमा बतायो । सो टोलीले गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा नेपालमा चीन विरोधी गतिविधि नियन्त्रण गरिने प्रत्याभूति दियो । केरुङ र तातोपानीबाहेक अरू नाका पनि सञ्चालनमा ल्याउन सकिने विश्वास दिलाएको छ ।

चीनको तिब्बत स्वशासित क्षेत्रका पिपुल्स कंग्रेसका अध्यक्ष लिनिन नेतृत्वको टोलीले चीनको ‘एक क्षेत्र, एक मार्ग’ (ओबीओआर) परियोजनाको छलफलका लागि टोली नेपाल आएको बताइएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको जनसरकारले नेपालका तिब्बतसँग सिमाना जोडिएका जिल्लामा सन् २००९ देखि खाद्यान्न तथा वस्तुगत सहायता गर्दै आएको छ । चिलिन नेतृत्वको टोलीले सभामुख ओनसरी घर्तीसँगसमेत छलफल गरेको थियो । यो टोली पनि ६ दिन (सोमबार)सम्म राजनीतिक भेटघाटमा व्यस्त हुनेछ ।

चिलिन नेतृत्वको टोली नेपालमा राजनीतिक भेटघाटमा व्यस्त हुँदै गर्दा चिनियाँ सेनाका कर्णेल लिओ ज्याम्लिनपाङ नेतृत्वको उच्चस्तरीय टोलीसमेत नेपाल आइपुग्यो । विपद् व्यवस्थापनका साथै नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासबारे छलफल गर्न यो टोली नेपाल आएको हो ।

यो टोलीको अर्को उद्देश्य भनेको नेपाली सैनिकसँग संयुक्त अभ्यासको व्यवस्था मिलाउनु हो । चिनियाँ सैनिक टोलीले नेपाली सेनासँगको छलफलका क्रममा चिनियाँ टोलीले दुई देशको संयुक्त सैन्य अभ्यासको प्रस्ताव अघि सारेको नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले जानकारी दिए । यस विषयमा प्रारम्भिक छलफल भए पनि निर्णय भने भइनसकेको उनले जानकारी दिए ।

नेपाली सेनासँग भारतीय र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । यस्तो अवस्थामा चीनले पनि आफ्नो उपस्थिति देखाउन चाहेको छ ।

यता यी दुई टोली राजधानीमा रहेका बेला चीनको अर्को टोलीसमेत काठमाडौं आइपुग्यो । चीनको सिचुवान प्रान्तको छेङ्दु नगरका पूर्वमेयर तथा चिनियाँ कम्युनिस्ट पार्टीका नगर सचिवको नेतृत्वको छेङ्दु नगर प्रतिनिधिहरूको टोली काठमाडौंमा आएको हो । यो टोलीले काठमाडौं–छेङ्दु नगरको भगिनी सम्बन्ध स्थापनासम्बन्धी औपचारिक सम्झौतासमेत गरेको छ ।

चिनियाँ चासो दाहाल प्रधानमन्त्री भएदेखि नै बढ्न थालेको देखिन्छ । उनी प्रधानमन्त्री साताभित्रै चीनबाट इन्स्टिच्युट अफ कन्टेम्प्रोरी इन्टरनेसनल रिलेसनका अध्यक्ष जी झेई, दक्षिण तथा दक्षिणपूर्वी एसियाका निर्देशक हु सिसेङसहितको टोली नेपाल भ्रमणमा आयो । यो टोलीको प्रमुख उद्देश्य भनेको चिनियाँ राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमणको तयारीस्वरूप थियो । तर, सीको नेपाल भ्रमण भने हुन सकेन ।

दाहाल प्रधानमन्त्री हुनुअगाडि असारको अन्तिम साता तिब्बतका जनसुरक्षा मामिला महानिर्देशक मेजर नजरल फु फेङसहित ६ सदस्यीय प्रतिनिधि मण्डलले नेपालको भ्रमण गरेको थियो । चीनबाट आएको विज्ञहरूको टोली फर्किएलगत्तै चीनका सैनिक अधिकारीहरूको टोलीले नेपालको भ्रमण गरेको थियो ।

असोजको अन्तिम साता नेपालका लागि चीनले नयाँ राजदूतको रूपमा यु होङलाई पठायो । कात्तिकको पहिलो साता गुडबिल फाउन्डेसनका महासचिव माझी जियाङ नेतृत्वको टोली नेपाल भ्रमणमा आयो । कात्तिकको पहिलो साता नै चीनको राज्यप्रशासन तथा वाणिज्यमन्त्री झाङ माओको नेतृत्वको टोलीले नेपाल भ्रमण ग-यो ।

मन्त्री झाङसँग नेपालका वाणिज्यमन्त्री दीपक बोहोराले उपभोक्ता अधिकारी संरक्षण सहयोग सम्झौतामा हस्ताक्षर गरे । पुसको पहिलो साता नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो तथा प्रकाशन विभाग प्रमुख लिउ छिबाओ नेतृत्वको टोली नेपाल भ्रमण गरेर फर्किएको छ ।

चीनको यो सक्रियता ‘रुल अफ इंगेजमेन्ट’को आधारमा भएको प्रेस काउन्सिलका सदस्य तथा चीन मामिलाका जानकार पत्रकार किशोर श्रेष्ठ बताउँछन् । ‘उनीहरूले नेपाललाई उपेक्षा गरेका छैनौं भन्ने देखाउन चाहन्छन्, यी भ्रमणहरू त्यसैका परिणाम हुन्,’ उनले भने, ‘अर्को कुरा तिब्बतको संवेदनशीलता पनि हो, चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको लामो सिमाना जोडिएको छ, यसलाई पनि उनीहरूले नजरअन्दाज गर्न सक्दैनन् ।’

सार्क क्षेत्रका अधिकांश देश पुगेका चीनका राष्ट्रपति सी जिङ पिङ नेपाल नआए पनि निरन्तर भ्रमण टोली पठाएर चीनले नेपाललाई उपेक्षा गरेको छैन भन्ने देखाउन चाहेको उनले बताए । उनका अनुसार निकटभविष्यमै चीनबाट उपप्रधानमन्त्री स्तरको भ्रमण हुन सक्नेछ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउन चाहे पनि अनुकूलता मिल्न नसकेको उनले बताए । नेपालले चीनलाई उपेक्षा गरेको अवस्थामा समेत चीनले नेपाललाई उपेक्षा गर्न नसक्ने उनी बताउँछन् ।

चिनियाँ टोली लगातर नेपाल आउनु स्वाभाविक भएको परराष्ट्रविद् टंक कार्की बताउँछन् । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री भएसँगै चीनको चासो केही बढेको हुनसक्ने उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको सम्झौता कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता चीनको हुन सक्ने उनले संकेत गरे ।

‘अहिलेको सरकारको अभिप्राय चीनसँग भएका सम्झौतालाई डिफ्रिज गर्नेतर्फ देखिन्छ,’ चीनका लागि पूर्वराजदूत कार्कीले राजधानीसँग भने, ‘प्रधानमन्त्री दाहाल र सत्ता साझेदार दल कांग्रेस सभापति देउवाले पनि चीनसँग भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो तर कार्यान्वयनमा उहाँहरू लाग्नुभएन ।’

चिनियाँ टोलीको पछिल्लो भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रस्ट पारेको नेकपा माओवादी केन्द्रका विदेश विभाग सदस्य युवराज चौलागाईंले बताए । ‘पछिल्लो समय चीनका चार टोलीको नेपाल भ्रमण भयो, यसले चीनले नेपाल र अहिलेको सरकारलाई कति महŒव दिएको छ भन्ने प्रस्ट भएको छ,’ उनले भने, ‘चिनियाँ टोली नेपाल आउँदै गर्दा नेपाली राजदूतले वेइजिङमा चिनियाँ राष्ट्रपतिसँग भेट गर्नुभएको छ, यसले दुई देशबीचको सम्बन्धलाई मजबुत गराएको छ ।’

नेपाल बसाइका क्रममा चिनियाँ टोलीले पुनर्निर्माण, दुई देशबीचको सम्बन्ध तथा राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले बताए ।