काठमाडौं, ८ पुस । सरकारले आवश्यक परेको खण्डमा राजदरबार हत्याकाण्डको छानबिन गर्न समिति नै बनाएर अघि बढ्ने तयारी गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रीपरिषद बैठकमा राजदरबार हत्याकाण्ड छानबिनको काम सम्पन्न भइनसकेको भन्दै मन्त्रीपरिषद बैठकमा यो विषयले औपचारिक रुपमा प्रवेश पाएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सबै मन्त्रीहरुलाई बोल्न समय दिएका थिए । सो क्रममा मन्त्रीहरुले मुलुकको वर्तमान अवस्थालाई लिएर व्यापक चलखेल भइरहेको र यसै बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गणतन्त्र, संविधानलगायत परिवर्तनमा असर पर्ने गरी विज्ञप्ति जारी गरेको बताएका थिए ।
सो क्रममा मन्त्रीहरुले ज्ञानेन्द्रप्रति लक्षित गर्दै राजदरबार हत्याकाण्ड छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन समेत माग गरेका थिए । तर, अन्तिममा प्रधानमन्त्री दाहालले सरकारले हरेक कुरामा निगरानी राख्नुपर्ने भन्दै यही क्याबिनेटबाट समिति गठन नगर्ने तर आवश्यक पर्दा समिति गठन गरौं भनेपछि दरबार हत्याकाण्ड छानबिन समिति गठन गर्ने निर्णय गर्दै क्याबिनेट बैठक सम्पन्न भएको थियो ।
कानुन मन्त्री अजयशंकर नायकले समसामयिक राजनीतिक विषयमा मन्त्रीहरुले आफ्नो धारणा राख्ने क्रममा दरबार हत्याकाण्ड छानबिनका लागि समिति गठन गर्न कुरो उठाएको जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेसँगै सरकारले १४ वर्ष पुरानो तत्कालीन राजा विरेन्द्र शाह परिवार हत्याकाण्डलाई ब्युत्याउन सक्ने गरी मन्त्रीपरिषद बैठकले तयारी गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पनि दरबार हत्याकाण्डको विषय मन्त्रीपरिषद बैठकमा उठेको जानकारी दिए । दरबार हत्याकाण्डको यथार्थ कुरो बाहिर नआएको भन्दै उनले बैठकमा सरकारले यो विषयमा छानबिन समिति बनाएर अघि बढ्नुपर्ने भन्ने कुरो आएको बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रले जुन वक्तव्य निकाले, त्यही प्रसंगसँगै कुरा उठेको हो,’ मन्त्री पाण्डेले भने, ‘राजदरबार हत्याकाण्डको छानबिन राम्रोसँग हुन सकेको छैन, छानबिन समिति बनाएर जाउँ भन्ने विषय उठेको हो ।’ उनले सरकारले चाहेमा छानबिन समिति गठन गरेर जान सक्ने समेत बताए ।
मन्त्रीपरिषद बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै संविधान संशोधन विधेयकका विषयमा सरकार संविधान प्रदत्त बाटोबाट अघि बढ्न चाहने बताए ।














प्रतिक्रिया