काठमाडौं, ७ पुस । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर-दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।
आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पछिल्लोपटक सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गरी तराई र पहाडी जिल्ला अलग गर्न संसद्मा संशोधन प्रस्ताव दर्ता गरेपछि सीमांकनका विषयमा लगातारजसो आन्दोलन भइरहेको छ ।
ओलीको भनाइमा समर्थन जनाउँदै पूर्वसांसदहरूले पहिलो संविधानसभामा आफूहरूले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएका थिए ।
ओलीले संविधान संशोधन विधेयक संसद्मा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसासंदहरूसँग गरे । ‘संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ मत छैन । प्रस्तावको विपक्षमा दिनप्रतिदिन मत बढिरहेको छ । त्यसैले अब संशोधन होइन, स्थानीय निकाय निर्वाचन हुनुपर्छ’, पूर्वसांसदसँग ओलीले बुधबार भने ।
ओलीले पूर्वसांसदहरूलाई भनेका थिए, ‘रूपान्तरित संसद्को उद्देश्य संविधान कार्यान्वयन हो, संशोधन होइन । संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउने अभिभारामात्र संसद्को हो ।’
सरकारले ल्याएको संशोधन प्रस्तावलाई सत्ता पक्षले ‘हठ’ का साथ अघि बढाए एमाले सहभागी नहुने पनि ओलीले प्रस्ट्याएका थिए । ‘तर संशोधन प्रस्तावको मतदान खतरा छ’, नेता ओलीलाई उद्धृत गर्दै पूर्वसांसद अकलबहादुर बिष्टले अन्नपूर्णसँग भने ।
बिष्टले भने, ‘संसदीय फोहोरी खेल प्रयोग गरेर सत्ता पक्षले मतदान आफ्नो पक्षमा पार्ने योजनामा ओली सजग रहेको पायौं ।’ स्थानीय निर्वाचन तत्कालै घोषणा गरे पनि आफूहरूलाई कुनै फरक नपर्ने धारणा राख्दै ओलीले भने, ‘एमालेको धारणा स्थानीय तहको निर्वाचन हो, तर कांग्रेस सभापति शेरबहादुर देउवाले भनेझैं स्थानीय निकायको हुन्छ भने पनि आपत्ति छैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल नै निर्वाचन भाड्न उद्यत रहेको उल्लेख गर्दै ओलीले भने, ‘प्रमुख तीन दलको बैठकमा स्थानीय निकाय निर्वाचनको कुरा गर्ने दाहालले माओवादीभित्र, मधेसी मोर्चा र जनजाति आदिवासीसँग अलगअलग कुरा गरेर डबल स्ट्यान्डर्ड भूमिका खेले ।’
ओलीले आफूहरूसँग २०४६ देखि २०६२ सम्म कांग्रेसले सूर्यबहादुर थापा र एमालेले लोकन्द्रबहादुर चन्दलाई बोक्नु र अहिले कांग्रेस र एमालेले पालैपालो दाहाललाई बोकेका कारण मुलुकमा राजनीतिक संकट बढेको धारणा राखेको एमालेका पूर्वसांसद शंकरनाथ अधिकारीले बताए ।
कांग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिएर रूपान्तरित संसद्बाट संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको ओलीले बताएका थिए ।
क्लबका अध्यक्ष एवं पूर्वसांसद ओमकारप्रसाद श्रेष्ठका अनुसार ओलीले गणतान्त्रिक आन्दोलनदेखि संविधान घोषणासम्म र अहिलेको अवस्थामा कांग्रेस, एमाले र माओवादीको संयुक्त सरकार गठन नहुनु नै मुलुकको दुर्भाग्य भएको धारणा राखेका थिए ।
‘नयाँ संसद्लाई मात्र संविधान संशोधनको अधिकार छ, रूपान्तरित संसद्लाई छैन’ भन्दै पूर्वसांसद क्लबका पाँचजनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएको र त्यसमाथि आगामी मंगलबार सुनुवाइ हुने जानकारी श्रेष्ठले दिए ।
रिट दायर गर्नेमा झलकनाथ वाग्ले, विष्णुबहादुर राउत, शंकरनाथ अधिकारी, ब्रह्मनारायण थारू र शारदा पोखरेल छन् ।
ओलीसँगको भेटमा पूर्वसांसदहरू गोविन्दबहादुर शाह, झलकनाथ वाग्ले, देवराज घिमिरे, विनोद शाह, शारदा पोखरेल, सुरेश कार्की, घनेन्द्र बस्नेत, शंकरनाथ आधकारीलगायत सहभागी थिए ।














प्रतिक्रिया