सिन्धुपाल्चोक ७ पुस । भूकम्पपछि अवरुद्ध नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सुचारु गर्न आफूहरू तयार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
वार्षिक रूपमा हुने सीमा जोडिएका जिल्लाहरूको सीमा सुरक्षा बैठकमा चिनियाँ पक्षले आफूहरू नाका सञ्चालन गर्न सकारात्मक भएको बताएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
भूकम्प र जुरे पहिरोपछि सीमा बैठक पनि अवरुद्ध भएको थियो । नियमतः अंग्रेजी महिनाको अन्त्यसम्म जसरी पनि बैठक गर्नुपर्ने भएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको सक्रियतामा सदरमुकाममा दुई देशका अधिकारीहरूबीच बैठक भएको थियो । अघिल्लो वर्षदेखि हुन नसकेको बैठक यो वर्ष सदरमुकाममै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी सिलवालले बताए ।
सीमा बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवरुद्ध नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । ‘हामीहरूले बैठकमा प्रमुख रूपमा नाका सञ्चालन हुनुपर्ने अडान राख्यौं,’ प्रजिअ सिलवालले भने, ‘हाम्रो मागमा चिनियाँ पक्ष पनि सकारात्मक पायौं, छिटोभन्दा छिटो नाका सञ्चालन गर्न पहल गर्ने आश्वासन पायौं ।’
सीमा बैठकमा चिनियाँ पक्षको नेतृत्व चीनको नेलामस्थित त्यहाँका प्रमुख जिल्ला अधिकारी पेङलु उईले गरेका थिए । भूकम्प र भोटेकोसीको बाढीपछि चिनियाँ सडक पनि बिग्रेको र अहिले पहिलोभन्दा सडक अझै स्तरोन्नति भइरहेकाले सडक मर्मत सम्पन्न हुनासाथ नाका सुचारु गर्ने चिनियाँ पक्षले आफूहरूलाई जानकारी गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सिलवालले बताए ।
नाका सञ्चालन नहुँदा चिनियाँ पक्षलाई समेत समस्या भएको बैठकमा चिनियाँ पक्षले जानकारी गराएको थियो । खासाबाट नाका सञ्चालन गर्न समस्या भए केही समय नेलामबाटै भए पनि नाका सञ्चालन गर्ने विषयमा चिनियाँ पक्षले तयारी गरेको बैठकमा जानकारी गराएको सिलवालले बताए ।
दुई देशका अधिकारीहरूबीच बैठक सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी सिलवालले भने, ‘यो बैठकपछि हामी निकै उत्साही भएका छौं, नेपालतर्फको बाटो छिटो मर्मत भयो भने अब नाका छिटै सञ्चालन हुन्छ ।’
तातोपानी मितेरी पुल हुँदै आएको चिनियाँ टोलीले नेपालतर्फको सडक र नाकाको सरकारी संरचना देखेपछि भने खिन्न भएको थियो । ‘नाका सञ्चालन गर्नुप¥यो भनेर नेपालतर्फबाट पटकपटक प्रेसर आएको छ, तर नेपालतर्फको सडक निर्माणमा कुनै प्रगति देखिएन,’ चिनियाँ टोलीले बैठकमा यो विषयमा समेत असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक अधिकारीले बताए । सीमा बैठकमा सिन्धुपाल्चोक र चीनको नेलम सिटीबीच भगिनी सम्बन्ध कायम गर्न आफूहरू लागि परेको चिनियाँ अधिकारीहरूले बताएका थिए । सीमा बैठकमा दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरासहितको टोली पनि सहभागी भएको थियो ।














प्रतिक्रिया