काठमाडौं, ६ पुस । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकै संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने । पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ ।
गत ६ चैतमा तिवारीलाई दुई वटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए। एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुई वटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन् । ‘मनोज फरार अभियुक्त हो,’ उनले भने ।
तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मनोजनिकट तीनजनालाई पक्राउ गरिएको स्रोत बताउँछ। यद्यपि हत्यामा उनीहरूको संलग्नता प्रस्ट भइसकेको छैन ।
हत्याको अनुसन्धानका लागि प्रहरीले केन्द्र तहबाट पनि आवश्यक समन्वय तथा सहयोगको काम गरिरहेको रूपन्देही प्रहरी प्रमुख धानुकले बताए । तिवारीको हत्यापछि घटनाको मनोजले जिम्मेवारी लिएका थिए। उनको तस्बिर मनोजकै फेसबुकबाट डाउनलोड गरी प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको छ ।
रूपन्देही देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि सय मिटर दक्षिणतर्फ बाटोमा सोमबार अपराह्न गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो ।
तिवारी हत्याको विरोधमा युवा संघले आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले बुटवल, भैरहवासहित यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
बन्दको प्रभाव पहाडी जिल्लामा परेको छ । मंगलबार बिहानैदेखि युवा संघ, अनेरास्ववियुसहित एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।
पार्टी कार्यकर्ताको हत्याको भोलिपल्ट मंगलबार एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललगायतका नेताहरू बुटवल आएका छन् । उनीहरूले तिवारीको घरमा पुगी परिवारसँग भेट गरेका थिए ।
एमाले प्रदेश नम्बर ५ का संयोजक पौडेलले हत्याको घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिँदै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
तिवारीको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। शवको पोस्टमार्टम मंगलबार साँझसम्म हुन सकेको छैन ।
घटनास्थलबाट करिब तीन किलोमिटरको दूरीमा तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ । तर, उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
बा.५१प ८०७३ नम्बरको मोटरसाइकल प्रहरीले सोमबार बेलुका नै मणिग्राममा बेवारिसे अवस्थामा फेला पारेको थियो । मोटरसाइलमा नक्कली नम्बर प्लेट प्रयोग भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए ।














प्रतिक्रिया