काठमाडौं, ३ पुस । जाडो मौसम सुरु भएसँगै निरन्तर तापक्रम घट्दै जाँदा राजधानी काठमाडौंसहित मुलुकभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार डिसेम्बर १५ देखि जनवरी मध्यसम्म चिसो बढी हुने समय हो ।
तापक्रममा आएको उतारचढावले बढी चिसो महसुस गरिएको महाशाखाले जनाएको छ । काठमाडौँमा तुलनात्मकरुपमा शनिबारबाट बढी चिसो महसुस गरिएको छ ।
विन्टर (हिउँद) मा ‘सिजनल इफेक्ट’ का कारण उपत्यकासहित धेरै स्थानमा चिसो महसुस भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘अहिलेको मौसम भनेको तापक्रम घट्ने समय हो । जुन स्वभाविक हो,’ उनले भने– ‘अहिले नै पानी पर्ने सम्भावना छैन् । यस वर्ष मौसम नर्मल रहन्छ ।’
उनका अनुसार अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । यो अझै निरन्तर घट्ने क्रममा छ । अधिकतम २२ डिग्री सेल्सियस रहेकामा अहिले १९ मा झरेको छ ।
पश्चिमी क्षेत्रमा पानी पर्नसक्छ
मौसमविद् पौडेलले तत्कालै देशभर पानी पर्ने सम्भावना नरहेको तर, यसवर्ष पश्चिमी भुभागमा पानी पर्नसक्ने बताए । उनले भने– ‘देशको पश्चिमी भेगमा हिउँदे वर्षा हुनसक्छ । हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्छ । तत्कालै त्यो सम्भावना छैन् ।’
मौसन पूर्वानुमान महाशाखाका अनुसार आजबाट तराईमा दुई हप्तादेखि लागिरहेको बाक्लो हुस्सु पनि हटेको छ । ‘विहान र दिउँसो लाग्ने अनी राति खुल्ने, यस्तो खालको बाक्लो हुस्सु तराईमा थियो । जून आजदेखि क्लियर भएको छ,’ मौसदविद् पौडेलले भने ।












प्रतिक्रिया