काठमाडौं, २ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाली कांग्रेस हिन्दू राष्ट्रस्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले आफ्नो नाम पूर्व राजा ज्ञानेन्द्र शाहसँग जोडिएर आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेता खड्काले विज्ञप्ति जारी गरे पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो तत्काल कुनै भेटवार्ता वा सम्पर्क केही नभएको बताएका हुन् । ‘खुमबहादुर खड्काले पूर्वराजासँग भेट गरेको पार्टीबाटै अलग्गिएर राजसंस्था ब्यूँताउन लागेको छ भनेर समाचार आएको पाएँ’, उनले भनेका छन्, ‘यस्ता समाचारप्रति कुनै सत्यता छैन । म कांग्रेसको सिपाही हुँ । भ्रमको पछाडि कोही नलाग्नु होला ।’
केही अनलाइन न्यूज पोर्टलहरूमा नेता खड्का र राजा तथा कांग्रेस विभाजनका विषयमा समाचार आएपछि उनले त्यसको खण्डन गरेका हुन् ।
कांग्रेस नेता खड्काले तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग आफ्नो कुनै सम्पर्क तथा भेट नभएको र यस विषयमा कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिएको बताएका छन् । ‘कपोलकल्पित सामाग्री तयार गरी आमजनतालाई दिग्भ्रमित तुल्याउन भएको प्रयासले म स्तब्ध र दुःखी भएको छ’, उनले भनेका छन् ।
‘राजसंस्था र गणतन्त्रका बारेमा अब विवाद रहिरहनु हुँदैन, जनमत संग्रहमार्फत् यो मुद्दाको स्थायी ढङ्गले किनारा लगाइनु पर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ’, खड्काले विज्ञप्तिमा भनेका छन्, ‘तर तात्कालीन राजासँग मेरो कुनै भेटघाट नै नभएको अवस्थामा काल्पनिक संवादको ब्यहोरासमेत उल्लेख गरी कपोलकल्पित र भ्रामक समाचार कथेर सम्प्रेषण गरेको हो । म आश्चर्यचकित भएको छु ।’
नेता खड्काले भनेका छन्, ‘जहाँसम्म कांग्रेस पार्टी विभाजनको कुरा छ, मेरो रगत–पसिना समेत सिँचेर बनेको कांग्रेस पार्टीलाई विभाजन गराउने र आफ्नो कलुषित स्वार्थ पूरा गर्ने कपटि चाल कसैले चलेको हो भने म चुनौतीका साथ भन्छु– कांग्रेस फुट्दैन र कसैले फुटाउन पनि सक्दैन ।’
बीपी कोइरालाको विचार दर्शनबाट निर्देशित र परिचालित कांग्रेसमा पछिल्लो केही वर्षयता देखापरेको विचलनलाई सच्याउन आफू पार्टीभित्र प्रयासरत रहेको उनले बताएका छन् ।
कांग्रेस नेता खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिन्दुराष्ट्र स्थापनाका लागि कांग्र्रेस नेतृत्वमा दबाब पैदा गर्न र देशमा त्यसनिम्ति वातावरण अनुकूल बनाउन हामीले नेपाली कांग्र्रेस, हिन्दूराष्ट्र स्थापना महाअभियान नामक मञ्च खडा गरेका हौँ, यो महाअभियान राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिको निम्ति क्रियाशील हुँदै संविधानबाट धर्मनिरपेक्षता शब्द विस्थापित गरी हिन्दू राष्ट्र नेपाल बनाउने उद्देश्यका निम्ति केन्द्रित छ । कांग्र्रेस र प्रजातन्त्रका पक्षमा पनि यस अभियानले अन्ततः सहयोग पु¥याउने विश्वास हामीले गरेका छौँ ।’











प्रतिक्रिया