१२ कार्तिक २०८३, बिहिबार

जनजाति महासंघको महाधिवेशनमा को-को भिड्दैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाल आदिवासी जनजाति महासंघको ९औं राष्ट्रिय महाधिवेशन शनिबार (आज) देखि चितवनमा सुरु भएको छ । तीन दिनसम्म हुने महाधिवेशन मार्फत महासंघको अध्यक्षका लागि चार जनाले दाबी गरेका छन् ।

किरात राई यायोक्खाले महासंघको अध्यक्षका लागि सर्वधन राईलाई अघि सारेको छ । ताजपुरिया समाज कल्याण परिषद्ले नित्यानन्द ताजपुरियालाई अघि सारेको छ ।

यसैगरी नेपाल शेर्पा संघले ङवाङ सोनाम शेर्पा र भुजेल समाज सेवा समितिले सूर्य भुजेललाई अघि सारेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

दलगत हिसाबले भने तीन दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । राई नेकपा एमाले, ताजपुरिया संघीय समाजवादी फोरम, शेर्पा नेकपा माओवादी केन्द्रबाट हुन् भने भुजेल समाज सेवा समितिले अघि सारेका सूर्य भुजेल पनि एमाले नै रहेको बताइएको छ ।

नेपाली कांग्रेसले पनि आफ्नो तर्फबाट उम्मेदवार बनाउने प्रयास गरिरहेको भए पनि अझै निर्क्यौल भइसकेको छैन । कांग्रेसबाट जगतराम बरामलाई अघि सार्ने चर्चा छ । तर, उनी कमजोर उमेदवार रहेको बताइएको छ ।

यायोक्खाले अघि सारेका सर्वधन राई काठमाडौंको बुढानिलकण्ठबासी हुन् । तर, उनको पुख्र्यौली घर भने खोटाङको बुइपा हो । उनी लामो समयदेखि यायोक्खा र जनजाति आन्दोलनमा लाग्दै आएका छन् । एमालेनिकट मानिए पनि उनी पार्टीभन्दा यायोक्खाकै राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

ताजपुरिया समाज कल्याण परिषदबाट महासंघको अध्यक्षको दाबेदार बनेका ताजपुरिया भने जातीय आन्दोलनसँगै राजनीतिमा पनि सक्रिय रहँदै आएका व्यक्ति हुन् । झापा लखनपुर–२ निवासी ताजपुरिया संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन् ।

उनी सरकारले सन २००७ मै अनुमोदन गरिसकेको आईएलओ महासन्धि १६९ र संयुक्त राष्ट्रसंघको विश्वव्यापी मानव अधिकार घोषणा पत्र (युएनड्रिप)मा अन्तरनिहीत आदिवासी जनजाति अधिकारहरु नेपालका आदिवासीहरुले पनि अभ्यास गर्न पाउनुपर्ने बताउँदै आएका छन् । पहिचान सहितको संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक सहभागिता आदिवासी जनजातिहरुको मूल एजेन्डा भएको उनको भनाइ छ ।

शेर्पा संघबाट उम्मेदवार बनेका ङवाङ सोनाम शेर्पा पनि जातीय आन्दोलनमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । उनी शेर्पा संघका महासचिवसमेत हुन् । काठमाडौंको बौद्ध स्थायी घर भएका उनी सांसद लकी शेर्पाकी श्रीमान हुन् ।

भुजेल समाज सेवा समितिबाट उम्मेदवार बनेका सुर्य भुजेल राजनीतिज्ञ भन्दा पनि व्यवसायीको रुपमा चिनिन्छन् । कास्कीका उनी पर्यटन व्यवसायी हुन् । महासंघको नेतृत्वका लागि दलीय भागबन्डा भन्दा पनि सक्षम व्यक्ति आउनुपर्ने उनको तर्क छ । उनी यसअघि नै महासंघको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

माओवादी केन्द्रले महासंघको अध्यक्षका साथै महासचिवमा पनि आफ्नो प्रतिनिधि उठाएको छ । उसले इलामका किरण सुनुवारलाई महासचिवको उम्मेदवार बनाएको छ । यसैगरी संघीय समाजवादी फोरमबाट नेपाल छन्त्याल संघमा आबद्ध गोविन्द छन्त्याल महासचिवको उमेदबार बनेका छन् । एमालेले भने महासचिवमा दाबी नगरेको बताइएको छ । कांग्रेसबाट महासचिवमा दाबी गरिने बताइएको भएपनि उसले हालसम्म अध्यक्षकै उम्मेदवार छनोट गरिसकेको छैन ।

नेपालमा ५९ आदिवासी जनजाति सूचिकृत भए पनि महासंघमा ५६ जाति मात्रै आबद्ध छन् । महासंघको नेतृत्व चयनका लागि प्रत्येक जातीय संस्थाको तर्पmबाट एक–एक जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।

महासंघको अबको नेतृत्वका लागि खासगरी एमाले, कांग्रेस र संघीय समाजवादी फोरमबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । कूल ५६ मतमध्ये एमाले र संघीय समाजवादी फोरमको पक्षमा बलियो मत रहेको बताइएको छ । मतको हिसाबले कांग्रेस तेस्रो तहमा र माओवादी केन्द्र चौथो तहमा मात्रै देखिएको छ ।

यसअघिको महासंघको निर्वाचनमा अल्पसंख्यक र बहुसंख्यक जनजातिबीच धु्रवीकरण भएको थियो । महासंघअन्तर्गत अल्पसंख्यक समुदायगत संस्थाहरु एकतिर लाग्दा नगेन्द्र कुमालले चुनाव जितेका थिए । तर, यस पटक भने अल्पसंख्यक र बहुसंख्यको नारा नभएको बताइएको छ ।

यस पटक दलीय मोर्चा र शक्तिकै हिसाबले महासंघको नेतृत्व चयन हुने बताइएको छ । यस निम्ति एमालेले पृथ्वी सुब्बा गुरुङ, कांग्रेसले आईबी गुरुङ, माओवादीले वर्षमान पुन र संघीय समाजवादी फोरमले रकम चेम्जोङलाई खटाएको बुझिएको छ ।