काठमाडौं, २ पुस । मुस्ताङका पूर्वराजा जिग्मे पलबर विष्टको ८४ वर्षको उमेरमा शुक्रबार विहान १ बजे निधन भएको छ । मंगलबारदेखि चाबहिलको ओम अस्पतालमा भर्ना भई आईसीयूमा उपचाररत उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो
‘दमको समस्याका कारण उहाँलाई मंगलबार अस्पतालमा उपचारका लागि भर्ना गरी आईसीयूमा राखिएको थियो,’ उनका भान्जा ज्ञानेन्द्र विष्टले राजधानीसँग भने, ‘उहाँलाई पछिल्लो समयमा छातीको समस्याका साथै उच्च रक्तचाप र यूरिक एसिडको समस्याले थला पारेको थियो ।’ राजधानी दैनिकले समाचार छापेको छ ।
२०६२/०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङमा राजाका रुपमा रहेका उनले मुलुकको राजनीतिक परिवर्तनसँगै आफूमा आएको बुढ्यौलीको कारण सत्ता छाडेका थिए । त्यसपछि हिउँदमा काठमाडौं र वर्षामा मुस्ताङमा बस्दै आएका थिए ।
आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय थिए । उनलाई मुस्ताङी जनताले गहनाका रुपमा लिएका थिए ।
उनको मृत्युपछि मुस्ताङी जनताले दुःख व्यक्त गर्दै शोक मनाइरहेको उनका भान्जा ज्ञानेन्द्रले बताए । उनका अनुसार पूर्वराजा विष्ट पूर्वरानी सिटोल पलबर विष्ट, पूर्वराजकुमार जिग्मे सिंगी पलबर विष्ट, पूर्वराजकुमारी र नातिनातिनीसहित ७ जनाको परिवार गोरखा भूकम्पले दरवारमा क्षति पु¥याएपछि मुस्ताङ छोडेर काठमाडौंको बौद्धमा बस्दै आएका थिए । उनको अन्तिम दाहसस्कार बौद्ध परम्पराअनुसार सोमबार हुने परिवारले जनाएको छ ।
मुलुकमा गणतन्त्र स्थापनसँगै सत्ता छाडेका उनको दरवार पुनर्निर्माणको काम भइरहेको छ । मुस्तांगी जनताले उनको दरवारको पुनर्निर्माणलाई तिब्रता दिइरहेको अवस्थामा पूर्वाराजाको निधनले मुस्ताङी जनताले आफ्नो गहना गुमाउनु परेको बताएका छन् ।
त्यहाँका बासिन्दाले सत्ता त्यागे पनि विष्टलाई पूर्वराजा नभई ‘राजा’ (स्थानीय भाषामा ग्याल्पो) नै भन्दै आएका थिए । मुलुकमा गणतन्त्र आएपछि काठमाडौंबाट हेलिकोप्टर लिएर सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री वामदेव गौतमले विष्टको राजा पदवी खोसिएको र सबै सरकारी सुविधा कटौती भएको पत्र बुझाएका थिए । त्यसपछि पनि उनलाई मुस्ताङका जनताले राजाका रुपमा राखे पनि सकृय रुपमा भने उनले आफ्नो बुढ्यौलीका कारण देखाउँदै निष्कृय भएको उनका भान्जा ज्ञानेन्द्रले जानकारी दिए ।
मुलुक गणतन्त्रमा गएपछि मुस्ताङी राजाको औपचारिक पदवी र उनले पाउने पाँच हजार रुपैयाँ भत्ता पनि खोसिएको थियो । तर सांस्कृतिक रुपमा यो पदलाई स्थानीयले त्यागेका छैनन् । राजाले दरवार छाडेर काठमाडौंमा बस्दै आएपनि मुस्ताङी जनता कतै बाहिर शुभ काममा जानु पर्दा दरबार अगाडि खादा चढाएर मात्रै आफ्नो काममा हिड्दै आएका छन् । उनका एकमात्र छोराको ८ वर्षकै उमेरमा निधन भएपछि उनले दाइका छोरालाई धर्मपुत्रको रुपमा पालेर जिग्मे सिंगी पलवर विष्टलाई युवराज घोषणा गरेका थिए ।
मुस्ताङी राजा ओंगल जिग्मे पलवरका तीन छोरा थिए । उनले जेठा छोरा आंगुन बांदी न्यांबो पलवरलाई राजा बनाउँदै २०१२ सालमा गद्दी त्यागे । तर राजा बनेको तीन वर्षमै २०१५ सालमा उनको निधन भयो । त्यसपछि फेरि बुबा ओंगल नै राजा भए । त्यसको ६ वर्षमा उनको पनि निधन भयो । त्यसपछि उनका कान्छा छोरा जिग्मे पलवर विष्ट २०२१ सालमा राजा बनेका थिए । माहिला छोरा चाराङ स्याप्टुङ विष्ट औतारी लामा बौद्ध धर्मअनुसार गृहस्थी जीवन त्याग गरी चाराङ गुम्बा सम्हाली बस्दै आएका छन् ।














प्रतिक्रिया