विराटनगर, १ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ दलहरु जनतालाई भिडन्त गराएर राजनीतिक द्वन्द्व सिर्जना गर्नेतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
राजधानी फर्कनु अघि विराटनगर विमानस्थलमा शुक्रबार साँझ संचारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले सरकार र सत्तापक्षीय दलहरु चुनाव नगराउने मनसायका साथ अगाडि आएकाले समस्या आएको आरोप लगाए ।
राजनीतिक गतिरोधको अन्त्य चुनाव गराएपछि हुने बताउँदै उनले सत्तापक्षीय दलहरु चुनाव गराउने मनसायमै नदेखिएको आरोप लगाए । सरकारका प्रधानमन्त्रीले आफूसंगको भेटमा कहिले स्थानीय निकायको चुनाव गर्ने भन्ने र कहिले स्थानीय तहको भन्ने गरेको बताउँदै ओलीले सरकारले गर्न खोजेको के हो बुझ्नै नसकिएको बताए ।
११ महिनामा स्थानीय तह, संघीय संसद र केन्द्रको निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले नियम अनुसार यही मंसिरमा निर्वाचन गर्नुपर्ने भएपनि अहिलेसम्म चुनाव कहिले गर्ने र कसरी गर्ने भन्नेमा सरकार प्रष्ट नदेखिएको बताए ।
एमालेलाई गतिरोध लम्ब्यायो भनेर आरोप लगाउन खोजिएको भन्दै उनले अहिलेको सरकारले आफ्नो नेतृत्वको सरकारले तयार पारेको केही काम पनि गर्न नसकेर यस्तो आरोप लगाएको बताए ।












प्रतिक्रिया