पोखरा, १ पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभाजित सबै माओवादी धाराहरू एउटै केन्द्रमा आउने परिस्थिति बनेको बताएका छन् ।
माओवादी केन्द्रको चार नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘म विभिन्न माओवादी धाराका नेताहरूसँग निरन्तर अन्तरक्रियामा छु । सबै माओवादी धाराका माओवादीलाई एकतावद्ध गरेर मात्र लक्ष्यमा पुग्न सक्छौं ।’
उनले भने, ‘माओवादी एकताको रणनीतिक महत्व छ । हामीले त्यसका लागि गम्भीरतापूर्वक पहल लिन जरुरी छ । मैले आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु, तपाईहरुले पनि एकताको वातावरण बनाउन आफ्नो ठाउँबाट प्रयास गर्नुहोला ।’
उनले भने, ‘अहिले हाम्रो संगठन केही अस्तव्यस्त छ, हामीले अनिर्णयको बन्दी हुनुपर्ने परिस्थिति छिचोलेका छौं । अब सम्मेलनमार्फत् व्यवस्थित पार्टी निर्माणको प्रक्रिया सुरु गरिन्छ । वैचारिक स्पष्टता, योगदान, युवा—प्रौढ र पाकाहरुको सन्तुलन र समावेशितालाई मिलाएर पार्टीलाई व्यवस्थित गरिनेछ ।’
प्रधानमन्त्री दाहालले एमालेसहितका प्रतिपक्षी दलहरूले गरेको आन्दोलन जनतालाई घरपाई मिलाइदिने आन्दोलन नरहेको दाबी गरे ।
उनले भने, ‘जनताका लागि एमालेको आन्दोलन होइन, यसको अन्तर्यमा परिवर्तन उल्टाउने नियत छ । यो परिवर्तनविरोधी आन्दोलन हो । हामी संविधान कार्यान्वयन गरेर परिवर्तनका मुद्धा संस्थागत गर्न चाहन्छौं, त्यसका लागि माओवादी एकता हाम्रो आधारभूत शर्त हो ।’
राष्ट्रिय सहमतिले मात्रै संविधान कार्यान्वयन हुनसक्ने बताउँदै दाहालले भने, ‘सरकार संविधान कार्यान्वयनका लागि प्रतिवद्ध छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको वातावरण बन्नैपर्छ । निर्वाचनको वातावरण बनाउन राष्ट्रिय एकता र संविधानको स्वीकार्यता बढाउनुको कुनै बिकल्प छैन । त्यसैले सरकार राष्ट्रिय सहमतिमै संविधान संशोधन, स्थानीय तहको निर्वाचनजस्ता महत्वपूर्ण मुद्धा टुंगाउन प्रयत्नशील छ ।’











प्रतिक्रिया