काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि प्रतिनिधिसभासहित सबै तहको निर्वाचन घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
विहिबार केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी कमिटी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल तथा गम्भीर समीक्षा गर्दै संविधान कार्यान्वयनका लागि अब निर्वाचनमा केन्द्रीत हुने निष्कर्ष निकालेको हो ।
‘यतिबेला संविधानको कार्यान्वयनमार्फत् मुलुकलाई राजनीतिक स्थायित्वको दिशा दिँदै आर्थिक तथा सामाजिक समृद्धिको दिशामा अघि बढ्नुपर्ने राष्ट्रिय कार्यभार रहेको छ,’ बैठकपछि सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यसका लागि संविधानले निर्धारित गरेको मितिभित्र जनप्रतिनिधिमूलक निकायको निर्वाचन हुनु अनिवार्य छ । तसर्थः २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’
बैठकले आगामी निर्वाचनका लागि राजनीतिक शक्तिहरुको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गरेको छ ।
निर्वाचनमार्फत् राजनीतिक निकास निकाल्दै मुलुकलाई अग्रगामी दिशा दिन एमाले सधैं तत्पर रहेकोमा बैठकले जोड दिएको छ ।
संशोधन विधेयकविरुद्ध आन्दोलनलाई सशक्त बनाइने
बैठकले असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकका विरुद्धमा संसदभित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
साथै, उक्त विधेयकका विरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आम जनसमुदाय तथा विभिन्न संघ–संगठन र नागरिक समाजप्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ ।












प्रतिक्रिया