१२ कार्तिक २०८३, बिहिबार

हत्या हुनु अगाडि युवतीसँग शारीरिकसम्बन्ध, लामा प्रकरणको आयो रिपोर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । प्रहरीले अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएका भनिएका ट्याक्सी चालक दोलखाका ३६ वर्षीय राजकुमार लामाले मृत्युअघि एक युवतीसँग होटलभित्रै शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।

उनको मृत्यु हुनुको प्रमुख कारण अत्याधिकरुपमा मादक पदार्थ सेवन र शारीरिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

उनको मृत्यु र उत्पन्न तनावलाई लिएर प्रहरीले अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी अनुसन्धानबाट खुलेअनुसार ट्याक्सी चालक लामा शनिबार साँझ नयाँबस्तीस्थित हेलम्बु रेष्टुराँमा पुगेका थिए । त्यहाँ उनले तुम्बा ताने ।

तुम्बा तान्ने क्रममा होटलमा काम गर्ने काभ्रेकी माया तामाङसँग राजकुमारको भेट भयो । केही समय तुम्बा तानेपछि उनी बाहिरिए ।

तर, फेरी सोही होटलमा फर्के । त्यसपछि उनले होटल कामदार मायालाई दोहोरी जान प्रस्ताव गरे । उनको प्रस्तावलाई मायाले सहजै स्वीकारिन् ।

त्यसपछि आफ्नो बा२ज २२३ नम्बरको ट्याक्सीमा हालेर उनले मायालाई गौरीघाटतिर लगे । नयाँ बस्तीको एरिना फुटसल नजिकै पुगेपछि भने ट्याक्सी खाल्डोमा फस्यो । त्यसपछि ट्याक्सीलाई त्यहीँ छाडेर दुबै जना त्यही हेलम्बु रेष्टुँरा फर्किए ।

होटल आइपुग्दा रात छिप्पिसकेको थियो । सबै जना मस्त निद्रामा थिए । त्यहाँ सबै सुतिसकेको मौका पारेर उनीहरुले शारीरिक सम्वन्ध राखे । त्यही क्रममा उनीहरुबीच विवाद भयो । आवेगमा मायाले राजकुमारलाई धकेलिन् । रक्सीले मातेका ट्याक्सी चालक लामा भूईँमा लडे ।

सो होटलकी सञ्चालिका सोलुखुम्बुकी ३६ वर्षीया संगीता राई हुन् । रेष्टुँरा सञ्चालिका संगीताका भाई मागधनले राजकुमारलाई ईंटाले हाने । घर बनाउने काम गर्दै आएका मागधन बिहान बेलुका दिदी नै कहाँ बस्दै आएका थिए । माया र मागधनले राजकुमारलाई त्यहीँ छाडिदिए ।

होटल सञ्चालिकाका छोरा अरुणले आमालाई भनेपछि संगीताले मानिस लडेको भनेर नयाँबस्ती प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरी टोलीले उनलाई अस्पताल लगेको देखिएको छ ।

अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार नयाँबस्ती प्रहरीले होटल साहुनी संगीताले भनेको कुरालाई सहजै पत्याउनु नै प्रहरी बिटमा रहेका प्रहरीको गल्ती भएको औंल्याएको छ ।

संगीताको कुरालाई पूरै विश्वास गर्दा प्रहरीले ट्याक्सी चालक लामाको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको भनेको थियो । बाटोमा अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याएको थियो, जहाँ पुर्याउँदा उनको मृत्यु भइसकेको ।

मृतकको टाउकोमा चोट लागेको थियो । यसैलाई आधार मानेर प्रहरीले तत्कालै शंकास्पद मृत्यु भएको भनेको भए पछिल्लो घटना हुने थिएन । नयाँबस्ती प्रहरी चौकीमा कार्यरतहरु संगीताको रेष्टुँरामा आउने जाने गरेकाले पनि उनको कुरामा प्रहरीले सजिलै विश्वास गरेको देखिन्छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको अनुसन्धान समितिको अध्ययनले पनि ट्याक्सी चालक राजकुमारको हत्या भएको खुलेको थियो ।

सो घटना र अनुसन्धानपछि पक्राउ पर्नेमा माया, संगीता, मागधनका साथै संगीताका छोरा अरुण र बुहारी दिया माझी रहेका छन् ।