काठमाडौं, २६ मंसिर । विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप २२० मेगावाट बिजुली आयात गर्ने भएको छ ।
तीन साता भित्रै १९० र आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो ।
हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ ।
राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने (६० मेगावाटमध्ये ९) मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हुँदै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ । भारतको मुजफ्फरपुरमा २२०–१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
‘अबको २०–२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ’, प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने ।














प्रतिक्रिया