
काठमाडौं, २५ मंसिर । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ ।
अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन । नागरिक दैनिकले समाचार छापेको छ ।
दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँछन् ।
‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन’, पूर्व कानुनमन्त्री अग्नी खरेलले भने,‘कुनै चिज परिपक्क हुन पनि समय चाहिन्छ । अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बुझ्न पनि समय चाहिन्छ । राज्यलाई पनि नागरिकको आचरण बुझ्न समय चाहिन्छ । हामीकहाँ यो सबको लागि समय दिइएको छैन । बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ ।’
विश्वका प्रायः सबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ । विदेशी महिलाले आफ्नो देशका नागरिकसँग विहे गरेको निश्चित समय वितेपछि मात्र अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था ती देशले गरेका छन् ।
- नेपाल- विवाह गरेलगत्तै
- भारत- विवाह गरेको सात वर्षपछि
- भुटान- विवाहपछि जन्मेको सन्तानले नागरिकता पाएपछि
- पाकिस्तान- विवाह गरेको पाँच वर्षपछि
- श्रीलंका- विवाह गरेको सात वर्षपछि
- अफगानिस्तान- विवाह गरेको पाँच वर्षपछि
- माल्दिभ्स- विवाह गरेको १२ वर्षपछि
- बंगलादेश- विवाह गरेको २ वर्षपछि














प्रतिक्रिया