काठमाडौं, २३ मंसिर । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले मंसिर ३० बाट उमेर हदका कारण अवकाश पाउने भएका छन् ।
थापा जस्ता निडर, कर्तव्यनिष्ठ र अब्बल प्रहरी अधिकृतको अबकाश हुन लागेपछि प्रहरी संगठन मात्र नभई जनस्तरमा समेत खल्लो महसुस हुन थालिसकेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
किनकी, थापाको कार्यकालमा काठमाडौं बासीहरुलाई शान्ति सुरक्षा र अमनचयनको महसुसमा कुनै कमि भएन । अब उनी जस्तै सक्षम प्रहरी अधिकारी परिसरमा आउलान या नआउलान ? त्यो भने समयक्रमले नै देखाउने छ ।
झण्डै डेढ वर्ष अघि काठमाडौं परिसरको कमाण्ड सम्हालेपछि एसएसपी थापा निकै चर्चामा आए । जहाँ गयो त्यहि राम्रो काम गरेर हाइहाई हुँदै आएका एसएसपी थापा काठमाडौं परिसरको कमाण्ड सम्हालेपछि कालोबजारी, संगठित अपराध र तस्करी नियन्त्रण जस्ता अवैध क्रियाकलापलाई प्राथमिकतामा राखेर अगाडि बढेका थिए ।
काठमाडौंको अपराध नियन्त्रणका लागि उनले ‘थ्री एस’ को रणनीति सार्वजनिक गरेका थिए । जुन कुरा उनले लागु गरेरै छाडे । पहिलो चरणमा ‘स्वीप’ अर्थात् अपराधीलाई नियन्त्रणमा लिने, दोस्रोमा ‘स्क्रिनिङ’ अर्थात् अपराधको पृष्ठभूमि केलाउने र अपराधिक गतिविधि त्याग्न सचेत गराउने ।
यी दुई चरणमा पनि गुण्डाहरु नसुध्रिएको खण्डमा अन्तिममा तेस्रो ‘एस’ प्रयोग गर्ने उनले बताएका थिए । एसएसपी थापाले तेस्रो ‘एस’मा ‘सुटआउट’ लाई राखे पनि सुटआउटको प्रयोग भने उनले गर्नु परेन । किनकी गुण्डागर्दीमा लागेका नाइकेहरुमध्ये कतिपय काठमाडौं छाडेर भागेका छन् भने कतिपय गुमनाम छन् । यद्यपी एसएसपी थापाले आफ्नो गुण्डागर्दी बिरुद्धको रणनीति सफल भएको पनि बताएका छन् ।
संगठित कालोबजारी विरुद्ध कारबाही गरी चर्चा कमाएका थापाले शान्ति सुरक्षा मात्र नभई जनहितको पक्षमा काम गर्ने अभियान नै चलाए ।
दशैंको समयमा काठमाडौंबाट बाहिर जाने यात्रुहरुले भोग्नु परेको समस्याको पनि उनले समाधान गरेरै छाडे । आफै कहिले नयाँ बसपार्क त कहिले चावहिल काउन्टरमा पुगेर प्रत्यक्ष निगरानी गरी बढि भाडा लिने र जथाभावी यात्रु कोच्ने सवारीसाधनमाथि कारबाही गरेर जनताको मन जित्न सफल भए । दशैंको समयमा प्रहरीको सक्रियताकै कारण चोरी, डकैती र लुटपाटमा समेत कमी आएको थियो ।
त्यसो त विक्रमसिंह थापा जहाँ पुग्थे, त्यहाँ गुण्डा र पेशेवर अपराधीको भागाभाग हुन्थ्यो । नेपालगञ्जमा घर भत्काएर ६ लेनको बाटो बनाउने देखि रुपन्देहीमा पेट्रोलमा मिसावट गर्ने, कालोबजारी गर्ने, गिट्टी र बालुवाको तस्करी रोकेर राज्यलाई तीन अर्व फाइदा दिलाउने अब्बल प्रहरी अधिकृत हुन एसएसपी थापा । राजधानीमा शान्ति सुरक्षाको जिम्मेवारी सँगसँगै उनले खाने तेल उत्पादन गर्ने कम्पनी दुगडको कालोबजारीलाई शक्ति केन्द्रको दबाबका बाबजुद पनि तहस नहस बनाए ।
त्यसैगरी, पुराना कहलिएका गुण्डा नाइके दिपक मनाङ्गे र उनका सहयोगी राजनकुमार सिंहलाई संगठित अपराधमा मुद्दा चलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि अन्य गुण्डा नाइकेहरुको समेत सातो गयो । एसएपी थापाले गुण्डा नाइकेबिरुद्ध पहिलो पटक संगठित अपराधको मुद्दा चलाउने रणनीति अपनाए । जुन रणनीतिमा उनी सफल पनि ठहरिए ।
महानगरिय प्रहरी परिसरको कडा रबैयालाई अदालतले पनि साथ दिएका कारण गुण्डा नाइकेहरुको सातो गएको हो । भारतीय नाकाबन्दीको समयमा देशमा कालोबजारी गरी ठगी गर्ने व्यापारिक घराना केएल दुगड समूहलाई कारबाही गरेर उनले सफलता मात्र हासिल गरेनन् जनताले समेत राहतको महसुस गरे ।
त्यसैगरी हतियार कारोबारीलाई पनि उनले ठेगान लगाएपछि काठमाडौंमा अवैध हतियार कारोबार रोकिएको छ । एसएसपी थापालाई उत्कृष्ट कार्य गरेको भन्दै महानगरिय प्रहरी दिवसको अवसरमा आईजीपी उपेन्द्रकान्त अर्यालले सम्मान समेत गरेका थिए ।














प्रतिक्रिया