
काठमाडौं, १८ मंसिर । नेपाली सेनाले आपतकालीन अवस्थामा प्रयोगमा ल्याउने गरी सिन्धुलीको चारनाथ भिमानमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पर्दा अत्यावश्यक हवाई सेवा अवरुद्ध नहोस् भनेर सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो।
विपत वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रुपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए।
अहिले सो प्रस्तावित क्षेत्र सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण स्थलको रुपमा प्रयोग गर्दै आएको छ । भिमानमा सेनाको करिब ४ सय १५ विगाह जमीन छ । थप जमीनको लागि गृहकार्य भइरहेको उनले बताए।
भौगोलिक स्थितिका कारण त्यहाँ बन्ने विमानस्थलबाट मध्यम स्तरका विमानमात्र अवतरण र उडान सम्भव हुन्छ। ठूला विमानलाई भने वरिपरिका चुरे डाँडाले अवरोध गर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। ‘यद्यपि, यसको विस्तृत प्राविधिक अध्ययन हुन बाँकी छ,’ उनले भने, ‘त्यसपछि काम अघि बढ्छ ।’
कान्तिपुर दैनिकमा समाचार छ ।














प्रतिक्रिया