१२ कार्तिक २०८३, बिहिबार

धमाधम विस्फोटक पदार्थ किन ओसार–पसार हुँदैछ ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gilatinकाठमाडौं, १७ मंसिर । माछा मार्ने जाली ल्याउने बहानामा विस्फोटक पदार्थ ओसारपसार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्युरो, झापा तथा संखुवासभा प्रहरीको संयुक्त अप्रेसनअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

पक्राउ पर्नेमा संखुवासभाका छिरिङ भोटे, फुर्वा भोटे र महेन्द्र राई भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ६ सय ९ किलो जिलेटिन तथा २ सय स्टिक र ६ सय ४० मिटर डोनोटर बरामद गरेको छ ।

पश्चिम बंगालको सिलगुढीबाट केही दिनअघि भारतीय प्रहरीले तीन नेपालीलाई विस्फोटक पदार्थसहित पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका उनीहरूले सो विस्फोटक पदार्थ नेपाल पठाउन लागेको बताएका थिए ।

त्यसपछि त्यहाँको प्रहरीले अनुसन्धानमा खुलेका केही तथ्यसहित नेपाल प्रहरीलाई जानकारी गराएपछि नेपालमा सो विस्फोटक पदार्थ ल्याउनेहरू पक्राउ परेका हुन् ।

‘केही विस्फोटक पदार्थसहित संखुवासभामा तीनजना पक्राउ परेका छन्, उनीहरूसँग अन्य व्यक्ति पनि संलग्न भएको हुन सक्ने हाम्रो अनुमान छ, हामी उनीहरूको खोजी कार्यमा लागेका छौं,’ विशेष ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीले भने । प्रहरीका अनुसार, पक्राउ परेका महेन्द्र राई स्थानीय सरस्वती माविका प्रधानाध्यापकसमेत हुन् ।

उनले आफूहरूले माछा मार्न सो सामान ल्याएको प्रहरीसमक्ष बयान दिएका छन् । तर, प्रहरी भने उनको दाबीलाई सहजै स्वीकार गर्ने पक्षमा छैन । उनीहरूले कुनै भूमिगत संगठन सञ्चालन गर्न वा भूमिगत सशस्त्र समूहलाई बेच्न सो सामान ल्याएको हुन सक्ने प्रहरीको आशंका छ ।

विशेष ब्युरोका प्रमुख डीआईजी भण्डारीले पक्राउ परेकाहरूले दिएको बयान सत्य नभएको बताएका छन् । ‘सामान हेर्दा माछा मार्न मात्रै ल्याइएको देखिँदैन, त्यसैले यस विषयमा विस्तृत अनुसन्धान हुदै छ,’ उनले भने ।

उता, भारतीय प्रहरीबाट पक्राउ पर्नेमा संखुवासभाका दावाछिरिङ भोटे, पाँचथर नागिनका पूजा लिम्बू र उनका श्रीमान कृष्णप्रसाद अधिकारी छन् । नेपाल प्रहरीले संखुवासभाबाट पक्राउ गरेका तीनजना र भारतमा पक्राउ परेका दावाछिरिङ भोटे एकै गाउँका हुन् । यसअघि पनि दावाछिरिङले महेन्द्र राईलाई विस्फोटक पदार्थ दिँदै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी स्रोतका अनुसार, इलामको पशुपतिनगरपारि रहेको मिरिकका स्थानीय रिनार भोटे पनि पक्राउ परेका छन् । उनले आफूले यसअघि पनि नेपाली नागरिकलाई विस्फोटक पदार्थ दिएको बयान दिइसकेका छन् । पूर्वी पहाडमा जातीय संगठनहरू क्रियाशील रहेको तथा केही भूमिगत समूहहरूसमेत रहेको अवस्थामा प्रहरीले उनीहरूको गतिविधिलाई थप अनुसन्धान गर्ने जनाएको छ ।

प्रहरीले केही समयअघि सशस्त्र भूमिगत संगठनका नाममा त्रास सिर्जना गर्ने मंगोल मूलवासी फोर्स तथा संयुक्त जातीय मुक्ति मोर्चाका कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो । मंगोल मूलवासीका पाँचजना र संयुक्त जातीय मोर्चाका तीनजना पक्राउपछि कारागार चलान भइसकेका छन् ।

पक्राउ परेकाहरू यी दुई संगठनको सामीप्यमा नरहेको तर अर्को कुनै संगठनमा रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ‘विगतमा पक्राउ परेका सशस्त्र समूहसँग उनीहरूको संलग्नता देखिँदैन, तर अन्य समूह पनि हुन सक्छन्,’ डीआईजी भण्डारीले भने ।