काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले घेरावन्दीमा पारेर कांग्रेसलाई रसातलमा फसाउने डिजाइन बनाएका छन् ।
लोकतान्त्रिक पार्टीको रुपमा आफ्नो पहिचान बनाउन सफल नेपाली कांग्रेसलाई विधि र बिधान भन्दा पनि आफ्नो इन्ट्रेस्ट अनुसार निधिले चलाउन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
निधिको सल्लाहमा फसेका कारण पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको सोमबार संसदीय दलको बैठकमा दिइएको सुझावलाई समेत सभापति देउवाले लत्याउँदै निधिको सल्लाहलाई शिरोधार्य गरेका छन् ।
पूर्वपदाधिकारी र बरिष्ठ नेता सबैले पाँच नम्बर प्रदेशबाट पहाडि जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा र रुकुम जिल्लालाई चार नम्बर प्रदेशमा नगाभ्न सुझाव दिएका थिए । पार्टीमा संस्थापन पक्ष र सभापति देउवाकै दाहिने हात भनिएका रक्षा मन्त्री वालकृष्ण खाँडले समेत देउवालाई निधिको सल्लाहमा नहिँड्न बारम्बार सम्झाएका थिए ।
देउवा पक्षकै बरिष्ठ नेता गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, बरिष्ठ नेता रामचन्द्र पौडेल पूर्बमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले समेत असहमति जनाउँदै स्थानिय जनता र जनप्रतिनिधिका सुझाव र सल्लाहबाट मात्र प्रदेशको सिमांकन हेरफेर गर्न भनेका थिए । युवा नेता चन्द्र भण्डारीले पाँच नम्बर प्रदेशबाट पहाडका जिल्ला हटाए कैलालीको टिकापुरमा जस्तै हिंसात्मक घटना हुने चेतावनी दिएका थिए ।
रक्षा मन्त्री समेत रहेका नेता वालकृष्ण खाँडले पाँच नम्बर प्रदेशका जनताले माग नैं नराखेको प्रस्तावलाई माथिबाट लादिएमा शान्ति सुरक्षा खल्बलिने चेतावनी दिएका थिए ।
संविधान संशोधनको मस्यौदा बिमलेन्द्र निधिले देउवा मार्फत पार्टीका शीर्ष नेता तथा पदाधिकारीसमक्ष राख्दा कसैले पनि समर्थन गरेका थिएनन् । निधिले दिएको लिखत देउवाले पढे पनि त्यस्तो प्रस्तावलाई बिधेयकको रुपमा प्रस्तुत गरे संविधानको स्वीकार्यता वढ्ने र संविधान कार्यान्वयनमा टेवा पुग्ने कुतर्क गरेका थिए ।
देउवाले पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गर्दा निधि र लेखकबाहेक सबैले बिरोध जनाएका थिए । बिरोध मात्र होइन, पूर्वअर्थमन्त्री डा. रामशरण महतले यस्तो प्रस्ताव कांग्रेसको नभएर कांग्रेसलाई वद्नाम गर्ने प्रस्ताव भएको भनि आलोचना गरेका थिए । डा. शेखर कोइरालाले त एमालेलाई विश्वासमा नलिई अघि बढाइएको प्रस्तावले कांग्रेसलाई बद्नाम गराउन सक्ने भनी सचेत गराएका थिए ।
यतिवेला पाँच नम्बर प्रदेशबाट अलग गराइएका जिल्लाका कांग्रेस सांसदहरु सभापति देउवा र निधि बिरुद्धको मोर्चाबन्दीमा आवद्ध भएका छन् । उनीहरुले पाँच नम्बर प्रदेश टुक्र्याउने विधेयकको बिपक्षमा मत हाल्ने चेतावनी समेत दिएका छन् । कांग्रेसका सांसदहरुको चेतावनीले गर्दा सभापति देउवा यतिवेला सर्वाधिक बिबादमा तानिएका छन् ।
निधिलाई देउवाले बढी स्पेस दिएको भन्दै देउवाको आलोचना पनि हुन थालेको छ । यता मुलुकमा संविधान संशोधनको बिषयलाई लिएर चरम राजनीतिक धु्रविकरण बढीरहेको बेला नेता रामचन्द्र पौडेल भने बिबादमा नपर्ने भन्दै जापानको १० दिने भ्रमणमा पत्नीसहित पुगेका छन् ।














प्रतिक्रिया