काठमाडौं, १० मंसिर । मुलुकको परिस्थिति कठिन, चुनौतीपूर्ण र अत्यन्तै अस्थिर रहेको संस्थागत निष्कर्ष निकालेपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनालाई जुनसुकै परिस्थितिको सामनाका लागि उच्च सतर्कतासाथ तयार रहन निर्देशन दिएका छन् ।
स्रोतका अनुसार सैनिक मुख्यालयमा मंगलबार र बुधबार आयोजित जर्नेल सम्मेलनले मुलुकको राजनीतिक अवस्था अत्यन्त तरल र अस्थिर बन्दै गएको निष्कर्ष निकालेपछि प्रधानसेनापति क्षेत्रीले त्यस्तो निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सम्मेलनमा उपत्यकासहित पाँचै क्षेत्रका पृतना मुख्यालयका पृतनापति (उपरथी), पीएसओजमा रहेका रथी तथा विभागीय प्रमुख उपरथीहरू र सैनिक मुख्यालयस्थित विभिन्न निर्देशनालयको नेतृत्व गर्ने सहायकरथीहरू सहभागी थिए ।
संविधानप्रति मधेस तथा अन्य समुदायको असन्तुष्टि यथावत् रहेको, चुनावको राजनीतिक वातावरण तयार हुन नसकेको, दलहरूबीच ध्रुवीकरण बढ्दै गएको र संवैधानिक निकायहरूबीच द्वन्द्व बढेको अवस्थामा संविधान कार्यान्वयन जटिल बन्दै गएको र त्यसले मुलुकमा थप अस्थिरता उत्पन्न गर्नसक्ने विश्लेषण सेनाको छ ।
राजनीतिक अस्थिरताको प्रत्यक्ष असर राष्ट्रिय सुरक्षामा पर्ने भएकाले त्यसका लागि उच्च सतर्कताका साथ ‘अपरेसनल रेडिनेसु मा रहनुपर्ने निष्कर्ष पनि सम्मेलनले निकालेको छ ।














प्रतिक्रिया