१२ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापतिको निर्देशन, ‘मधेसी दलका कारण परिस्थिति बदलिन सक्छ तयारीमा बस्नु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army-meetingकाठमाडौं, ९ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेस केन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा भएको विद्यमान परिस्थितिको मूल्यांकनपछि उनले आउन सक्ने जस्तासुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेसनल, तालिम तथा बन्दोबस्ती तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

बैठकमा प्रधानसेनापति क्षत्रीले परिस्थिति जतिबेला पनि बदलिन सक्ने भएकाले मुलुकको हितलाई ध्यानमा राखेर तालिम तथा बन्दोबस्तीको तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरू तथा पृतनापतिहरूलाई संस्थागत जिम्मेवारी तथा कार्यहरूको अलावा अपरेसनल रेडिनेस तथा सांगठनिक सुदृढीकरणका क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

बैठकमा पृतनापतिहरूले दिएको सुझावका आधारमा प्रधानसेनापति क्षत्रीले तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलन र तराईकेन्द्रित राजनीतिक दलका नेताहरूले दिएको अभिव्यक्तिहरू समेतलाई ध्यान दिएर सैन्य संरचना तथा अपरेसनल अवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे पृतनापतिहरूले ब्रिफिङ गरेका थिए ।

वार्षिक नियमित बैठक भए पनि यसमा समग्र विषयहरूको छलफल, मूल्यांकन र भावी रणनीतिका केही आधार तय स्वाभाविक भएको उनको भनाइ छ ।

‘मुलुकमा देखिएका पछिल्ला विकसित घटनाक्रमबारे सेना अनभिज्ञ भएर बस्न मिल्दैन, त्यसकारण पनि पृतनापतिहरूको बैठकमा छलफल र मूल्यांकन हुन्छन्’, प्रवक्ता कार्कीले भने, ‘यसले भोलिका दिनमा मुलुकको सुरक्षा अवस्थामा त्यसले पार्ने प्रभावबारे थप रणनीति बनाउन पनि सहज हुनेछ ।’