११ कार्तिक २०८३, बुधबार

कोरियाली ‘हान्जिन सिपिङ कर्पोरेसन’ डुब्दा नेपालीलाई घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pani-jahajकाठमाडौं, १७ असोज । समुद्रमा ढुवानी सेवा चलाउने ‘हान्जिन सिपिङ कर्पोरेसन’ आर्थिक समस्यामा परेपछि नेपाली व्यवसायीका करिब ४ सय कन्टेनर सामान विभिन्न मुलुकका समुद्री तटमा अलपत्र परेका छन् ।

विश्वको नवौं ठूलो सिपिङ कम्पनी हान्जिनमार्फत नेपाली व्यवसायीले आयात र निर्यातका लागि पठाएका सामान अलपत्र परेका हुन् । हान्जिन कोरियाको सबैभन्दा ठूलो सिपिङ कम्पनी हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘कम्पनी टाट पल्टेर धेरै व्यवसायीका सामान अडकिएका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘हाम्रो जानकारीमा आएसम्म करिब ४ सय कन्टेनर सामान विभिन्न मुलुकका बन्दरगाहमा छन् ।’

नेपालबाट निर्यात गरिएका सामान कोलकातामा अडकिएका छन् भने आयातकर्ताको सामान हङकङ, सिंगापुर, थाइल्यान्ड, चीनलगायत मुलुकका बन्दरगाहमा अलपत्र परेको व्यवसायीले जानकारी दिएका छन् ।

चीनले हान्जिनका केही समुद्री जहाजलाई ‘कब्जा गर्ने’ समाचार आएपछि चिनियाँ बन्दरगाहमा रोकिएका सामान आउने–नआउने अन्योल भएको व्यवसायीले बताए ।

नेपाली व्यवसायीले सिंगापुरलाई केन्द्र बनाएर विभिन्न मुलुकबाट सामात आयात गर्छन् । त्यसैले सबैभन्दा धेरै कार्गो सिंगापुरमा अडिएको छ ।

सिंगापुरसम्म ठूला जहाजमा सामान ल्याएर त्यहाँबाट सानामा लोड गरी कोलकातासम्म ल्याउने गरिएको छ ।

हान्जिनले कालकातासम्म ल्याउने गरी जिम्मेवारी लिए पनि सिंगापुरसम्म ल्याएर छाडेका सामानमध्ये केही भने नेपाली व्यवसायीले अतिरिक्त रकम तिरेर ल्याइसकेका छन् ।

उनीहरूले प्रतिकन्टेनर ५ हजार डलरसम्म तिरेर कन्टेनर सिंगापुरबाट छुटाएका हुन् । ती कन्टेनर ल्याउन अर्कै कम्पनीको पानीजहाज व्यवस्था गर्नुपर्दा थप भार परेको व्यवसायी बताउँछन् ।

सिंगापुर सरकारले आफ्नो बन्दरगाहमा आएका हान्जिनका कन्टेनर निश्चित रकम लिएर छाडिदिएपछि थप भार परे पनि सजिलो भएको हो ।

तर कतिपय मुलुकले भने कम्पनीका कन्टेनर छाड्न मानेका छैनन् । त्यसले गर्दा समस्या भएको छ ।