११ कार्तिक २०८३, बुधबार

पूर्व सभासदले गरे यस्तो कार्य, झुक्यो सांसदहरू शिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhusudan-agrawalकाठमाडौं, १३ असोज । औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।

अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट (जिएमपी) लाइसेन्स रद्द भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको हो ।

‘उनीहरूले ल्याएको प्रिकर्सर रसायन र उत्पादन गरेको औषधिमा धेरै तलमाथि देखियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘रसायन डाइभर्सन भएको पुष्टि भएपछि कारबाहीस्वरूप लाइसेन्स रद्द गरेका हौँ, थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

अनुसन्धान सुरु भएलगत्तै अग्रवाल फरार छन् । उनी पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट समानुपातिक सभासद् थिए ।

लामो समयदेखि अग्रवालको कम्पनीले रसायन आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरूलाई बिक्री गर्दै आएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार छानबिन सुरु भएपछि कम्पनीले औषधि व्यवस्था विभागमा नक्कली ब्याच मेनिफेक्चिरिङ रिपोर्ट (बिएमआर) बुझाएका थिए । त्यससम्बन्धी फाइलहरू लिएर लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले अनुसन्धान अघि बढाएको छ ।

विभागबाट फाइल ल्याएर अनुसन्धान भइरहेको र सञ्चालकहरू फरार रहेको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए । मधुसुदनसहित ती कम्पनीका सञ्चालक सञ्जय अग्रवाल र अमित अग्रवाल एक महिनादेखि फरार रहेको स्रोतले बतायो ।

मधुसुदनका छोरा आशिष, श्रीमती तथा बुहारीसमेत कम्पनीको सञ्चालक भएको र उनीहरूसमेत फरार रहेको प्रहरीले जनाएको छ । सोही कम्पनीका कर्मचारी नवीन सरावरी र हरि शर्मासमेत फरार छन् ।

प्रहरीबाट सूचना चुहिएकाले पनि उनीहरू भाग्न सफल भएको स्रोतको भनाइ छ । प्रिकर्सर रसायन दुरुपयोग गरेको आरोपमा आर्या फर्मामा सञ्चालक रतनलाल संघाई र मोहित हलानलाई पक्राउ गरेलगत्तै अग्रवालद्वारा सञ्चालित कम्पनीमाथि समेत छानिबन भएको थियो ।

लगत्तै उनीहरू फरार भएका हुन् । उनीहरूले तीन वर्षमा तीन हजार केजी प्रिकर्सर रसायन गृह मन्त्रालयको स्वीकृतिमा औषधि बनाउन भनेर आयात गरेका थिए ।

तर, औषधि नबनाई आइस ड्रग बनाउने गिरोहलाई बिक्री गरेको प्रहरी स्रोतले बताएको छ । पूर्वसभासद् मधुसुधन आर्या फर्मा सञ्चालक पवन र रतनका भाञ्जा हुन् । उनीहरूले मिलेरै लामो समयदेखि यस्तो धन्दा गर्दै आएको प्रहरी स्रोत बताउँछ ।