११ कार्तिक २०८३, बुधबार

हाम्रा सडक धेरै असुरक्षित, हरेक साताजसो ठूला दुर्घटना, दुर्घटना रोक्ने उपाय छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accidentधादिङ १२ असोज । उत्तरी धादिङको मार्पाक गाविसमा बस खस्दा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित १३ पुरुष र ६ महिलाको मृत्यु भएको छ ।

घाइते १४ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एक महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा मृत्यु भएको हो ।

सदरमुकाम धादिङबेसीदेखि किन्ताङफेदीतर्फ जाँदै गरेको ना.४ख ३३१८ नम्बरको बस मंगलबार बिहान करिब सवा ११ बजे दुर्घटना भएको हो ।

बस कच्ची सडकबाट तीन सय मिटर तल आँखुखोलाको किनारामा खसेको छ । माथिबाट पहिरो झरेर साँघुरिएको ठाउँबाट बस खसेको थियो ।

प्रहरी चौकी दार्खा र मार्पाकका प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका थिए । घटनास्थल सदरमुकामदेखि ३५ किलोमिटर टाढा पर्छ ।

मृतकमध्ये १७ को सनाखत

मृत्यु हुनेमा सत्यदेवी गाविसका मेन्दिजुन तामाङ, थिरमाया तामाङ, रंगसिंह तामाङ, लीलाबहादुर गुरुङ, रौता तामाङ, तीन वर्षीय रावत तामाङ, मार्पाक गाविसका कमला पौडेल, दिलकुमारी अधिकारी, पदमबहादुर थापा, गुम्दी गाविसका रुद्रबहादुर घले, दार्खा गाविसका रामचन्द्र सापकोटा, सेर्तुङ गाविसका लारुप तामाङ, री गाविसका मानबहादुर तामाङ, चन्द्रमान तामाङ, टेकबहादुर तामाङ, गाडीचालक गोरखाका गंगावीर विक र ठेगाना नखुलेका खिया लामा छन् । घटनास्थलमा मृत्यु भएकामध्ये एकजना र उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एकजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धेरै यात्रुका कारण दुर्घटना

उत्तरी धादिङतर्फ जाने बाटो वर्षातका कारण जीर्ण भएको र धेरै यात्रुको भारका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियारको नेतृत्वमा एक टोली घटनास्थल गएको छ । घटनास्थल सदरमुकाम धादिङबेसीबाट साढे तीन घन्टाको दूरीमा पर्छ । बर्खाको समयमा परेको पानीले सडक जीर्ण बनाएकाले त्यस क्षेत्रका बासिन्दा जहिले पनि जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।