११ कार्तिक २०८३, बुधबार

सी ल्याउन ‘प्रचण्ड’लाई स्वाँ–स्वाँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinpingकाठमाडौं, ११ असोज । ‘चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो पुग्यो । तर, यकिन खबर आएन, उनलाई नल्याए त माओवादी संकटमा पर्छ, एमालेले हामीविरुद्ध अभियान नै चलाउन बेर छैन’, माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रीय कार्यालयको बैठकमा नेताहरूलाई भन्दै थिए,‘अब भारतमा ब्रिक्स सम्मेलन हुँदै छ, त्यहाँ हामीलाई पनि निम्तो छ, भेटेरै कुरा गर्छु ।’ जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

भारतसँग कुम जोडेपछि चीनले रुन्चे हाँसोमा नेपाल सरकारले गरेको काममा हामीलाई कुनै मतलव छैन भने पनि उसले कांग्रेससँगको गठजोडमा बनेको माओवादी केन्द्रको सरकारलाई वास्ता गरेको छैन ।

नाकाबन्दीका समयमा चीनसँग जोडिएका नाका खोल्न तयार रहेका चिनियाँहरूले माओवादीलाई भन्दा अहिले एमालेलाई बढी भाउ दिएपछि प्रचण्ड भाउन्न भएका छन् ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमणको निम्तो दिँदा उनी आउने विश्वास थियो । तर, सरकार फेरिनासाथ चीनले खासै चासो नदिएपछि अहिले जसरी पनि सीलाई नेपाल ल्याउने तयारी गरेका छन् ।

यतिसम्म कि चिनियाँ अधिकारीलाई निरन्तर भेट्ने सम्पर्कमा बस्ने काममा मात्रै उनी स्वाँ–स्वाँ हुनेगरी थाकिसकेका छन् । केन्द्रको बैठकमा के सी नेपाल आउँछन् त ? कसरी ल्याउने ? माओवादीको इज्जतको कुरा छ नि ? भनेर र्‍याखर्‍याख्ती पारेपछि उनले भारतको गोवामा भेटेर केही घन्टाका लागि भए पनि आफ्नो प्रधानमन्त्रीकालमा नेपालमा पाइला टेकिदिन आग्रह गर्ने योजना बनाएका छन् ।

ब्रिक्स सम्मेलनमा बिम्स्टेक सदस्य मुलुकलाई पनि निम्तो गर्ने भएपछि त्यही मौकामा प्रचण्डले सीलाई भेट्ने योजना बनाएका छन् । बिम्स्टेकमा नेपाल, भारत, म्यानमारलगायत मुलुकका सरकार प्रमुखको सहभागिता रहने गरेको छ ।

असोज अन्तिम साता ब्रिक्स राष्ट्रहरूको आठौं शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी गोवा आउँदै छन् । गोवामा असोज अन्तिम साता विश्वका उदीयमान शक्ति राष्ट्रहरू ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका (ब्रिक्स) को आठौं शिखर सम्मेलन हुँदै छ । पाँच देशका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुँदै छन् ।

नेपाल हुँदै ब्रिक्स सम्मेलनमा सहभागी हुन गोवा पुग्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको कार्यक्रम परिवर्तन भएपछि प्रधानमन्त्री प्रचण्डले ब्रिक्ससँगै हुन लागेको बिमस्टेक (बंगलको खाडी सम्बद्ध देश) सम्मेलनमा सहभागी हुन जाने क्रममा भेटवार्ताको तयारी थालेका हुन् ।

‘त्यो भेटका लागि मैले सरकारको तयारी पनि गर्न थालेको छु, चिनियाँ अधिकारीलाई पनि भनिरहेको छु । त्यही बेला मैले भेटेरै निम्तो दिइनँ भने हाम्रो इज्जतको प्रश्न उठ्नेछ ।’

छिमेकी मुलुकसँगको सम्बन्ध नराम्रो भएको क्रेडिट उठाउँदै प्रचण्डले आफ्नो समर्थनमा बनेको ओली सरकार ढालेर आफू प्रधानमन्त्री बनेका थिए । लगत्तै मन्त्रिपरिषद् विस्तार हुनु अगाडि नै उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई विशेष दूत बनाएर चीन पठाएका थिए भने विमलेन्द्र निधिलाई भारत पठाएका थिए ।

महरा चीनसँग राम्रो सम्बन्ध भएको नेता मानिन्छन् । प्रचण्डले चीनसँगको सम्बन्ध सुधार्नका लागि महरालाई अख्तियारीको जिम्मा दिएका थिए ।

‘चिनियाँ पक्षले कहिले पनि नकारात्मक कुरा गर्दैनन् तर राष्ट्रपतिको भ्रमणको विषयमा भने उनीहरू सरकार परिवर्तनसँगै फरक रूपमा देखा परेका छन्’, उच्च स्रोतले भन्यो, ‘सरकारले विशेष दूत पठाए पनि अहिलेसम्म भ्रमणको टुंगो हुन सकेको छैन ।’