काठमाडौं, १० असोज । सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार कोषबाट तीन वर्षमा २२ हजार तीन सय ४१ जनाले उपचार गराएका छन् ।
आर्थिक वर्ष ०७०–७१ मा आठ हजार दुई सय १३, ०७१–७२ मा ६ हजार ९५ र ०७२–७३ मा आठ हजार ३३ जनाले सरकारी उपचार खर्च पाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारले छुट्याएका आठ प्रकारको गम्भीर रोगमध्ये सबैभन्दा बढी क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कोषबाट उपचार गराएका छन् ।
कोषअन्तर्गतको व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा नौ हजार तीन सय ७० जनाले क्यान्सरको उपचार गरेका छन् ।
०७०–७१ मा चार हजार ४९ जनाले उपचार खर्च लगेकोमा ०७१–७२ मा २७ सय ४४ जना र गत वर्ष २५ सय ७७ जनाले उपचार खर्च लगेका छन् ।
अन्य रोगको उपचार खर्च लैजानेमा घटबढ भए पनि क्यान्सरको उपचारका लागि पैसा लैजानेको संख्या क्रमशः घट्दै गएको सचिवालयका स्वास्थ्य कार्यकर्ता प्रकाश घिमिरे बताउँछन् ।
सरकारले क्यान्सर रोगको उपचार गराउन एक व्यक्तिलाई एकपटकका लागि एक लाख दिँदै आएको छ ।
विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च लैजानेमा दोस्रो नम्बरमा मिर्गौलाका बिरामी रहेका छन् ।
तीन वर्ष अवधिमा ६ हजार दुई सय ६६ जना मिर्गौला रोगीले सरकारबाट पाउँदै आएको उपचार खर्च लगेका छन् ।
अघिल्लो तेस्रो वर्षमा दुई हजार ६ सय २५ जनाले उपचार खर्च लगेका थिए, त्यसैगरी दोस्रो वर्षमा त्यो संख्या घटेर एक हजार तीन सय ५४ जनामा झरेको थियो, तर गत वर्ष बढेर दुई हजार दुई सय ८७ जना पुगेको छ ।
सरकारले मिर्गौलाका बिरामीलाई तीन तहमा खर्च उपलब्ध गराउँदै आएको छ ।
अघिल्लो वर्षसम्म साताको दुई दिन होमोडायलोसिस सेवा निःशुल्क दिँदै आएकोमा यस वर्षदेखि आजीवन निःशुल्क गरेको छ ।
तर, सातामा दुईपटकभन्दा बढी गर्नेले थप व्ययभार आफैँले व्यहोर्नुपर्नेछ ।















प्रतिक्रिया