११ कार्तिक २०८३, बुधबार

ट्रमामा फाइनान्स चलाउनेलाई गगनको कस्तो कारबाही ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan Thapaकाठमाडौं, ३० भदौ । विभिन्न सरकारी अस्पतालहरुको निरीक्षणका क्रममा अनियमितता र भ्रष्टाचारलाई एक सय दिन भित्र सुधार्न निर्देशन दिएका स्वास्थ्य मन्त्री गगन थापाले वीर अस्पताललाइ कमाई खाने भाँडो बनाउनेहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने छाँट अझै देखिएको छैन ।

वीरको निरीक्षणका क्रममा मन्त्री थापाले भनेका थिए–‘वीर जनताका लागि निर्माण भएको अस्पताल हो र जनताकै अस्पताल बनाउनुस् । म आफू भ्रष्टाचार र अनियमितता गर्दिन र त्यस्तालाई छाड्दिन पनि ।’ यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्वास्थ्य मन्त्री थापाको यस्तो निर्देशन आउँदा पनि वीरका भ्रष्ट केही पदाधिकारी र कर्मचारीहरुले भने भ्रष्टाचारलाई निरन्तरता दिइरहेको वीरका एक कर्मचारी बताउँछन् ।

गरिव र निमुखा जनताका लागि भनेर निर्माण गरिएको वीर अस्पतालमा अहिले विरामीहरु बेड नपाएर समस्यामा परिरहेका छन् । तर, वीरमा कार्यरत एमाले निकटका कर्मचारीहरुले भने राष्ट्रिय गौरवको ट्रमा सेन्टरमा समेत फाइनान्स सञ्चालन गरिरहेका छन् ।

वीर अस्पतालमा कयौं बेड खाली हुँदा पनि बेड छैन भन्दै केही कर्मचारीहरुले विरामीहरुलाई दुःख दिने गरेका छन् । २०७२ सालको महाभूकम्पमा वीर अस्पतालको पुरानो भवन भत्किएपछि अहिले सघन उपचार कक्ष (आईसीयु) को ९ वटा मात्र बेड छन् ।

२१ बेड रहेको आईसीयु ९ वटामा झर्दा विरामीहरुले समयमै कसरी उपचार पाउँछन् ? गंभिर प्रश्न खडा भएको छ । अस्पतालभित्र आईसीयु बेड बढाउन पहल गर्नु पर्नेमा अस्पतालका उपकुलपति डा. गणेश गुरुङ भने बन्न लागेको वीरको नयाँ भवनको टेण्डर गराउनु पर्नेमा कमिसन अनाउने भएपछि रकम फ्रिज गराएर बसिरहेका छन् ।

गुरुङलगायत डिन योहनचन्द्र सिवाकोटी र बलात्कारी छुटाउन वीर अस्पतालकै किर्ते कागजात बनाउने सेवा आयोग सचिव लक्ष्मण अर्यालको समूहले वीर अस्पताल नर्सिङ क्याम्पस भएको स्थानमा बन्न लागेको ६ सय शैयाको अस्पताल पनि आफू निकटलाई टेण्डर दिन नपाएपछि रकम फ्रिज गराएका छन् ।

वीर अस्पतालको क्यान्सर विभागको रेडियसन मेसिन पनि गुरुङले आफू निकटकालाई पार्न नसकेपछि १२ करोड रकम पनि फ्रिज भएको छ । रेडियसन मेसिनको १२ करोड रकम फ्रिज भएको विषयमा मन्त्री आफैले अस्पताल पुगेको समयमा जानकारी लिएका थिए ।

गुरुङको समूहले २०७१ सालमा भएको प्रमाणपत्र नर्सिङ तहको प्रवेश परिक्षामा एउटा परिक्षार्थीको स्थानमा एक वर्ष अघि नै प्रवेश परिक्षा पास गरी शिक्षण अस्पतालमा नर्सिङ प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिक्षा दिन लगाई पास गराएर लाखौं कमिसन बुझेको खुलिसकेको छ ।

महाभूकम्पकको समयमा गुरुङ र उनको समूहले आफू निकट गौतम मेडिकल डिस्ट्युविटर क्षेत्रपाटी र अन्य औषधी व्यापारीसँग बजार मूल्य भन्दा दोब्बर मूल्यमा औषधी खरिद गरी करोडौं कमिशन लिएको थियो ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, स्वास्थ्य मन्त्रालय र सतर्कताको निर्देशन विपरित गुरुङको समूहले शाखा अधिकृत देखि कार्यालय सहयोगीसम्म ६० कर्मचारी नियुक्त गरी काममा लगाइ रहेका छन् ।

२०७२ सालमा सेवा आयोग मार्फत लिइएको परिक्षामा पनि अफू निकटलाई पास गराउन गुरुङको समूहले प्रतिव्यक्ति पाँच लाख उठाएर २५ जना आफु निकटका परिक्षार्थीको उत्तर पुस्तिका नै परिवर्तन गरी उतिर्ण गराई नियुक्ति दिएका छन् । त्यस्तै, ट्रमा सेन्टरमा पनि उपकुलपति गुरुङले ३५ जना कर्मचारी नियुक्ति गरेका छन् ।

दुर्घटनामा घाइते भएका विरामीहरुलाई अकस्मात उपचारको व्यवस्था गर्न भारत सरकारको लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न ट्रमा सेन्टरमा अझै पनि विरामीहरुले गुणस्तरिय उपाचर पाउन सकेका छैनन् । गुरुङको समूहले सेन्टरमा फाइनान्स सञ्चालन गरी कमाई खाने भाँडो बनाइरहेका छन् ।

सर्वोच्च अदालतले पनि गत वर्ष ट्रमा सेन्टर वीर अस्पताल अन्तर्गत सञ्चालन गर्न आदेश दिएपनि पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको पालामा गुरुङको समूहले उपकुलपति अन्तर्गत सञ्चालन गरी आफूखुसी कयौं कर्मचारी भर्ना गरिरहेका छन् ।

वीर अस्पतालमा जाँदा हामी जो कोहीले पनि नाक थुनेर हिड्नु पर्ने अवस्था छ । स्वास्थ्य सेवा दिने संस्थामा नै यति फोहोर, दुर्गन्धित र अव्यवस्थित हुँदा समेत उपकुलपति किन मौन बसिरहेका छन् ।

विरामीलाई कुर्न जाने कुरुवाहरुका लागि न त बस्ने ठाउँ छ न त शौचालयको नै व्यवस्था छ । अस्पताल प्रशासनले यस तर्फ ध्यान दिनु पर्दैन ? भ्रष्ट समूहका कारण सुविधा सम्पन्न भएर पनि वीरमा यस्ता कयौं समस्याहरु देखिएका छन् यस विषयमा अव स्वास्थ्य मन्त्री थापा मौन बस्न मिल्दैन ।

युवा नेताको हैसियतमा वाहीवाही कमाएका स्वास्थ्य मन्त्री थापाले अब भाषण गर्ने होइन काम गरेर देखाउनु पर्ने बेला आएको छ ।

केही दिन अघि कान्ती बाल अस्पतालको निरीक्षण गर्न पुगेका स्वास्थ्य मन्त्री थापाले ‘यहाँका विरामी किन निजी अस्पतालमा पु-याइन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

मन्त्रीलाई स्मरण रहोस् वीर अस्पताल आएका कयौं विरामीहरु पनि गुरुङको समूहले कमिसन लिएर कहिले बेड छैन त कहिले अन्य कुनै बहानामा विभिन्न नीजि अस्पतालमा पठाउँदै आएका छन् ।