काठमाडौं, ३० भदौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या अभियोगमा आजीवन काराबासको सजाय भोगिरहेका चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका पूर्व नेता तथा गुण्डा नाइके बाबु थापालाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट पर्वत जिल्ला सरुवा गरेको छ ।
थापाले नख्खु जेलबाटै आफ्नो गैरकानूनी धन्दा सञ्चालन गरेको थाहा पाएपछि प्रहरीले पर्वतको जेलमा पठाएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
थापालाई भेट्न दैनिक उल्लेख्य शुभेच्छुक आउने गरेकाले जेलको सुरक्षामा पनि ठूलो चुनौती थपिएको थियो । स्रोतका अनुसार थापालाई भेट्न नख्खु जेलमा कुन्डले, मुन्द्रे र विभिन्न अपराधमा सजाय पाएकाहरू दिनदिनै जाने गरेका थिए ।
त्यस क्रममा उनीहरूवीच आपराधिक कुराकानी हुने गरेको प्रहरीको भनाई छ । अब पवर्त जिल्ला कारागार पुगेका थापाको गैरकानूनी क्रियाकलाप बन्द हुनेमा प्रहरी विश्वस्त छ ।
चुरेभावर पार्टी विभाजन भएपछि मन्त्री बन्न नपाएको झोकमा काठमाडौंको शंखमुलमा थापासहितको समूहले न्यायाधीश बमलाई गोली हानेर हत्या गरेको थियो । हत्याको लामो समयपछि प्रहरीले थापालाई गृह जिल्ला सर्लाहीबाट भाग्दै गरेको अवस्थामा घेराहालेर पक्राउ गरेको थियो ।















प्रतिक्रिया