११ कार्तिक २०८३, बुधबार

सरकारले ध्यान दिएन नारायणहिटी दरबार संरक्षणमा, इतिहाँस पनि ढल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan Hiti Royal Palace Photos (2)काठमाडौं, २६ भदौ । भूकम्पले नारायणहिटी दरबारका पर्खालदेखि भवनसम्ममा क्षति पुर्‍याए पनि अहिलेसम्म निर्माण गर्ने सुरसार गरिएको छैन ।

दरबार सङ्ग्रहालयले एक वर्षअघि नै सरकारसँग रकम माग गरे पनि उपलब्ध हुन नसक्दा निर्माण कार्य थाल्न नसकिएको सङ्ग्रहालय प्रमुख रोहित ढुङ्गानाले बताए । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

उनका अनुसार मर्मत तथा निर्माण कार्यका लागि करिब २५ करोड रुपियाँ माग गरिएको छ ।

भूकम्पले दरबारको पूर्व, उत्तर र पश्चिमतर्फको पर्खाल लडाइदिएको छ । पर्खाल भत्किएपछि काँडे तारले बेरेर काम चलाइएको छ ।

सङ्ग्रहालय प्रमुख ढुङ्गानाले २।७ किलोमिटरमध्ये २।४ किलोमिटर पर्खाल निर्माण गर्नुपर्ने बताए । पर्खालका लागि झन्डै आठ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । पर्खाल २०४० सालपछि निर्माण गरिएको थियो ।

पर्खाल निर्माण भएलगत्तै राजा त्रिभुवनकी कान्छी रानी ईश्वरीको निधन पएपछि पश्चिमतर्फको पर्खाललाई काटेर शवयात्रा निकालिएको थियो ।

यसरी काटिएको स्थानमा पुनः पर्खाल निर्माण गरिएको थियो ।
दरबार सङ्ग्रहालय प्रवेश गर्ने स्थानमा पनि पर्खाल भत्किदा त्यहाँ उम्रिएका झार हटाउन मिलेको छैन भने कतिपय स्थानका पर्खालमा अझै पनि टेको दिइएको छ ।

दक्षिणतर्फको फलामे बार अडेको पर्खाल पनि निकै कमजोर बनिसकेको छ ।

सङ्ग्रहालय प्रमुख ढुङ्गानाले फलामे बारलाई उभ्याइएको सानो पर्खाल कमजोर भएकोले कुनै पनि बखत ढल्न सक्ने भएकाले सडक यात्रुका लागि निकै जोखिम भएको बताए ।

भूकम्पले भत्काइदिएको दक्षिणतर्फको प्रवेशद्धार पनि पुनः निर्माण गर्नुपर्ने देखिएको छ । सुरुमा नारायणहिटी दरबारको मुख्यद्वार नै त्यही थियो ।

त्यो द्वार राणा प्रधानमन्त्री रणोद्दीपको पालामा बनेको अनुमान गरिएको छ ।

दरबार परिसरमा रहेको रणोद्दीपको दरबार (बम्बै चोक) र राजा त्रिभुवनकी भित्रिनी सरलाको पनि दरबार पूर्ण रूपमा भत्किएको थियो ।

भूकम्पमा भत्किएका ती दरबारका अवशेष समेत पन्छाइएको छैन । उनले आर्थिक समस्याका कारण ती अवशेष पन्छाउन नसकिएको गुनासो गरे ।

भूकम्पले पूर्व मुमाबडामहारानी रत्न शाह बस्दै आएको महेन्द्र मन्जिलमा पनि क्षति पुर्‍याएको थियो ।

निकै अवधिसम्म टिनको टहरोमा बिताएकी रत्न महेन्द्र मन्जिललाई सामान्य मर्मत गरेपछि सरेकी थिइन् ।

भूकम्पले पूर्वराजा त्रिभुवनको पौडी पोखरीसमेत चिरिएको छ ।

त्यसैगरी नारायणहिटी दरबार क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी जीर्ण टहरोमा बस्नु पर्दा आफै असुरक्षित बनेका छन् ।

दक्षिणतर्फको नारायण मन्दिर परिसरमा रहेको पुरानो टहरोलाई भूकम्पले निकै क्षति पुर्‍याएको थियो । टहरोका भित्ता चर्किएका छन् भने टहरोभित्रको जमिन ठाँउठाँउमा भासिएको छ ।

सशस्त्र प्रहरी बलको बाघभैरव गुल्म अन्तर्गतको नारायणहिटी सुरक्षा बेसका ३५ जना प्रहरी टहरोमा बस्दै आएका छन् ।

सडक छेउमा रहेको टहरोमा ठूला गाडी गुड्दा कम्पन्न हुने गरेको छ । टहरोमा ‘श्री ५ महेन्द्र’ लेखेको हुनाले राजा महेन्द्रको पालामा निर्माण गरिएको हुनसक्ने प्रहरी बताउँछन् ।