२६ कार्तिक २०८३, बिहिबार

सरकारमा जान मधेसी मोर्चाका दुई वटा शर्त, देउवा र प्रचण्डले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha

– विमल योगी

काठमाडौं, १५ साउन । विभिन्न माग राख्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारमा जान दुई वटा शर्त अघि सारेको छ ।

शनिबार सिंहदरबारस्थित संसद सचिवालयमा रहेको राज्य व्यवस्था समितिको हलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले संविधान संशोधनसहित दुई वटा शर्त अघि सारेका हुन् ।

सहमतीय सरकार निर्माणका लागि राष्ट्रपतिले दिएको समय एक बाँकी छँदा कांग्रेस र माओवादीले पहिलोपटक मधेसी मोर्चासँग शनिबार परामर्श गरेका थिए । त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै माग पूरा गराउनका लागि भएपनि मोर्चा सरकारमा आउनुपर्ने तर्क गरेका थिए ।

congress-mao-madesi-morcha-meeting-1congress-mao-madesi-morcha-meeting

देउवा र प्रचण्डले भनेका थिए– ‘माग पूरा गर्ने हो भने मोर्चा सरकारमा आउनुपर्छ । सरकारमा आउनुस् आफ्ना माग आफै पूरा गर्नुस् । तपाईहरुलाई हामी समर्थन गर्छाै । मधेसी जनताका नाममा धेरै भयो आन्दोलन । बाहिर बसेर हुन्न् । भित्रै बसेर संघर्ष गरौं ।’

जवाफमा मधेसी मोर्चाका तर्फबाट नेताद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले अहिलेकै अवस्थामा सरकारमा जान नसकिने भन्दै दुई वटा शर्त अघि सारेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

Morcha-leader

नेता यादवका अनुसार बैठकमा उपेन्द्र र महन्थले भनेका थिए– ‘यथावस्थामा सरकारमा जाने अवस्था छैन् । सरकारमा जाने वातावरण तपाईहरुले बनाइदिनुपर्यो । संघीय प्रदेशको सीमांकन र निर्वाचन क्षेत्रसम्बन्धी लगायत मागहरु पूरा गर्नका लागि संविधान संशोधन गर्न राजनीतिक प्रतिबद्धता जनाउनुस् । त्यसपछि सरकारमा जानेबारेमा सोच्छौं ।’

यसैगरी मधेसी मोर्चाले मधेस आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र कार्यकर्ताको मुद्दा फिर्ता लगायत मागहरु सरकारको पहिलो निर्णयबाट पूरा गर्ने प्रतिबद्धता आएमात्रै प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस र माओवादीका उम्मेदवार प्रचण्डका पक्षमा मतदान गर्ने शर्त पनी अघि सारेको छ ।

Morcha-leader-1

‘दुवै शर्त पूरा हुने सुनिश्चित भएपछि हामी सरकारमा आउन सक्छौं । राजनीतिक सहमतिबाट अघि बढौं,’ उपेन्द्र र महन्थको भनाई उद्धृत गर्दै यादवले भने ।

मधेसी मोर्चाको शर्तपछि राजनीतिक समझदारीका लागि कांग्रेस, माओवादी र मोर्चाका तीन–तीन जना सदस्य रहनेगरी ९ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलका सदस्यको नाम साँझसम्म टुंगो लाग्नेछ । कार्यदलमा विज्ञहरु राखिने छ ।

नेकपा माओवादी केन्द्रका नेता कृष्ण महराले मधेसी मोर्चासँग कांग्रेस, माओवादीको वार्ता सकारात्मक भएको भन्दै ढिलो चाँडो मोर्चा सरकारमा आउने बताए । उनले भने– ‘वार्ता अहिलेसम्म सकारात्मक छ । मधेसी मोर्चा ठिलो चाँडो सरकारमा आउछ । उनीहरुका मागप्रति हामी सकारात्मक छौं ।’

Morcha-leader-2

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले माग पूरा भएपछि मोर्चा सरकारमा आउने संकेत गरे । उनले भने– ‘छलफल जारी छ । दुबै पक्ष सकारात्मक छौं । चाँडै निष्कर्षमा पुग्छौं ।’

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको सहभागिता थियो । त्यसैगरी मधेसी मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी थिए ।