काठमाडौं, १४ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारका विषयमा निर्णय गर्न बसेको बैठक दुई अध्यक्ष् अनुपस्थित भएपछि विनाकुनै निष्कर्ष सक्किएको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्लायमा शुक्रबार अबेर राति नौँ बजेसम्म बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा बन्न लागेको सरकारका विषयमा छलफल भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
‘बैठकमा नयाँ सरकार, बाढीपहिरो, स्थानीय निकायका संरचनाका विषयमा छलफल भयो’, प्रवक्ता झाले भन्नुभयो, ‘बैठकमा दुई अध्यक्ष नभएकाले ठोस निर्णय हुन सकेन । तर हामी यथाअवस्थामा सरकारमा सहभागी हुने पक्षमा छैनौँ ।’
बैठकमा धारणा राख्ने सबै नेताहरूले मधेसी मोर्चाका माग पूरा नहुँदासम्म सरकारमा सहभागी हुन नहुने तर सरकार बनाउन भने सहयोग गर्न सकिने जनाएका थिए । त्यसका लागि पनि आफूहरूका माग पूरा गर्नुपर्ने कांग्रेस र माओवादी केन्द्रको प्रतिवद्धता आउनुपर्ने प्रवक्ता झाले उल्लेख गर्नुभयो ।
शुक्रबारको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव अनुपस्थित थिए । दुई अध्यक्ष अनुपस्थित भएपनि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवसहितका दोस्रो तहका नेताहरू रहेका थिए ।
मधेसी मोर्चाले बाढीपीडितको उद्धार र राहतका लागि सरकारसँग माग गरेको छ । सदभावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरो तथा डुबानबाट पीडितहरूलाई तत्काल उद्धार गर्न माग गरिएको जानकारी दिनुभयो ।












प्रतिक्रिया