काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल भएको छ । भेटमा प्रचण्डले पछिल्लो अवस्थाबारे चिनियाँ राजदूतलाई जानकारी गराएका थिए ।
प्रचण्डले आफ्नो नेतृत्वमा अब बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडी बढाउने बताएको प्रचण्ड सचिवालयले जनाएको छ ।
माओवादीसमेत संलग्न सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको प्रचण्डले उक्त अवसरमा उल्लेख गरे । अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने आफ्नो विश्वास भएको उनले जनाए ।
सचिवालयका अनुसार राजदूत चुन्ताईले प्रचण्ड नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताए । ‘नेपालको विकासको निम्ति चिनियाँ सरकारको तपाईंको नेतृत्वमा बन्ने सरकारलाई भरमजदुर साथ, सहयोग र समर्थन गर्नेछ,’ राजदूतको भनाई उद्धृत गर्दै सचिवालयले जनाएको छ ।












प्रतिक्रिया