काठमाडौं, १३ साउन । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचन अघि आफूहरूले अगाडि सारेका मागका विषयमा ठोस प्रतिवद्धताको माग गरेको छ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बिहीबार बसेको बैठकले प्रधानमन्त्री निर्वाचन अगाडि गठबन्धनले अगाडि सारेका सबै माग पूरा गर्ने ठोस प्रतिवद्धताको माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णयका विषयमा जानकारी दिँदै सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले सरकार बनाउन गृहकार्यमा रहेका कांग्रेस र माओवादी केन्द्रले गठबन्धनले उठाएका मागका विषयमा ठोस धारणा दिनुपर्ने माग गरिएको बताउनुभयो ।
‘गठबन्धन अहिले सरकारमा सहभागी हुने अवस्थामा छैन’, महासचिव सुमनले भन्नुभयो, ‘हाम्रा मागका विषयमा सरकार बनाउने तयारीमा रहेका दलहरूबाट ठोस प्रतिवद्धता आयो भने मात्रै प्रधानमन्त्री निर्वाचनमा सहयोग गर्ने अन्यथा गठबन्धनको निर्णयअनुसार अगाडि बढ्ने छौँ ।’
संघीय गठबन्धनले राज्यपुनःसंरचना नहुँदासम्म स्थानीय निकायको संरचना गर्न नहुने निर्णय पनि गरेको छ । राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशवकुमार झाका अनुसार राज्य पुनःसंरचनाको प्रतिवेदन नआउँदासम्म स्थानीय निकायको पुनःसंरचना गरिन नहुने बताउनुभयो । गठबन्धनले तत्कालका लागि स्थानीय निकायको संरचना अगाडि बढाउनुको कुनै अर्थ नहुने उल्लेख गरेको छ ।
गठबन्धनले जारी राखेको कार्यक्रमलाई यथावत समयमा गर्नुपर्ने निर्णय गरेको बैठकले स्थानीय निकायको तयारीअनुसार अन्तरक्रियाका कार्यक्रम हुने प्रवक्ता झाले बताउनुभयो । उहाँले बाढी, पहिरोले जनता पीडित भएको भन्दै गठबन्धनले प्रभावित क्षेत्रहरूमा आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतका लागि परिचालन गर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया