काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले साउन १६ गतेभित्र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पार्टी एकता गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
दुई दिनसम्म काठमाडौंको भाटभटेनीमा बसेका केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच एकीकरण गर्न बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको जानकारी दिनुभयो । बैठकले दुवै पार्टीका वार्ता टोलीले सहमतिका आधारमा तयार गरेको एकीकरणको नीति र आधारपत्रलाई बैठकले अनुमोदन गरेको छ ।
राप्रपा नेपालले माओवादी केन्द्र र कांग्रेस नेतृत्वको नयाँ गठबन्धनको सरकारका विषयमा ठोस निर्णय भने केही गरेको छैन । माओवादी केन्द्र र कांग्रेसको गठबन्धन विरुद्ध निर्णय गरिसकेको राप्रपा नेपालले राप्रपासँगको एकीकरणपछि सरकारमा सहभागी हुने वा नहुने निर्णय हुने अध्यक्ष थापाले उल्लेख गनुभयो ।
अध्यक्ष थापाले साउन १६ गतेभित्र एकीकरण कार्य सम्पन्न गर्न तथा एकीकृत पार्टीको चुनाव चिन्ह ‘गाई’ कायम गर्नेबारेमा प्रयत्नशील रहन बताउनुभयो । साउन १६ गतेभित्र एकीकरण हुन नसकेको अवस्थामा आवश्यक निर्णय गर्न बैठकले कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गरेको थापाले उल्लेख गर्नुभयो ।
संविधानले धर्म परिवर्तनलाई दण्डनीय तुल्याएता पनि अझै देशको विभिन्न भागहरूमा संगठित र योजनावद्ध रुपमा लोभ लालच, त्राश र भ्रम सिर्जना गरी धर्म परिवर्तन गराउने तथा सनातन धर्मलाई कमजोर बनाउने कार्य जारी रहेको राप्रपा नेपालले दाबी गरेको छ ।
‘संविधानले नै सनातन धर्मको संरक्षण गर्नु राज्यको दायित्व हुने उल्लेख गरिए तापनि यसरी निर्वाध रुपले धर्म परिवर्तन भैरहेको प्रति चिन्ता र खेद प्रकट गर्दै तत्काल धर्म परिवर्तनमाथि नियन्त्रण गर्न राप्रपा नेपाल सरकारसंग माग गर्दछ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
राप्रपा नेपालले पार्टी संगठनको सुदृढीकरण एवं स्थानीय तहको निर्वाचनको तयारीको सिलसिलामा आगामि श्रावण र भाद्र महिनामा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
देशको सम्पूर्ण गाबिस र नगरपालिकाहरुमा पार्टीको संरचना बिस्तार गर्ने क्रममा पार्टीले संचालन गरेको हरेक वडामा राप्रपा नेपाल अभियानलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।











प्रतिक्रिया