काठमाडौँ, १२ साउन । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को बैठकले स्थानीय निकायको सीमा निर्धारणको विषय टुङ्ग्याएर चैतसम्ममा निर्वाचन गर्ने गरी अघि बढ्ने सहमति गरेका छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले यसै मंसिरभित्र स्थानीय निर्वाचन गरिसक्ने घोषणा गरेको थियो । त्यसैअनुसार काम पनी अगाडि बढाएको थियो ।
तर, उक्त निर्णय उल्ट्याउँदै कांग्रेस र माओवादीको आज सिंहदरबारमा बसेको बैठकले स्थानीय निर्वाचनलाई मंसिरबाट सारेर चैतमा पुगाएको छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने- ‘व्यावहारिक र वैज्ञानिक रुपमा सीमा निर्धारण गरी छिटो स्थानीय निकायको निर्वाचन गर्ने विषयमा बैठकमा छलफल भयो, नेकपा (एमाले) र मधेसी मोर्चा लगायतका राजनीतिक दलसँग पनि बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको छ ।’
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरालगायत नेताको सहभागिता थियो ।
स्थानीय निकाय पुनःसंरचनाका विषयमा मङ्गलबार पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताबीच छलफल गरेको काँग्रेसले आज पनि छलफललाई निरन्तरता दिने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।












प्रतिक्रिया