२६ कार्तिक २०८३, बिहिबार

ओली सरकारलाई यसरी लगाए पूर्व अर्थमन्त्रीले गम्भीर आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-1काठमाडौं, ९ साउन । पूर्व अर्थमन्त्री एवम् कांग्रेस नेता रामशरण महतले वर्तमान सरकारले राष्ट्रियताका विषयमा सस्तो नारा दिएको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छलफलमा आइतबार सहभागी हुँदै महतले भन्नुभयो, ‘अहिलेको सरकारले राष्ट्रियताको खोक्रो नारा मात्रै लगाएको छ । विदेश नीति राम्रो बनाए भनेर भनिन्छ । तर त्यो सबै हावादारी हो ।’ उहाँले चीनसँग नाका खोलेको एमालेका मन्त्री र सांसदहरू दाबी गरे पनि एउटा पनि भन्सार नाका नखुलेको बताउनुभयो ।

‘चीनसँगको नाका खोल्न दिएन भनेर मलाई गाली गरिन्छ’, उहाँले भन्नुभयो, ‘चीनसँगको कुनै नाका खुलेको छैन । यति कुरा त मेरै पालामा भएको थियो । यो सरकारले सक्थ्यो भने तातोपानी भन्सार नाका खोल्नु पर्ने हो । तर यो भन्सार नाका अहिले सम्म खुलेको छैन’, कांग्रेस नेता महतले भन्नुभयो ।

राष्ट्रियताका नाममा कुरा गर्ने वर्तमान ओली सरकारले लिपुलेकका विषयमा कुनै पनि कुरा नगरेको उहाँले आरोप लगाउनुभयो ।

‘सुशील कोइराला प्रधानमन्त्री भएको बेला भारतीय प्रधानमन्त्रीसँग मैले नै लिपुलेकमा हाम्रो पनि दाबी छ भनेर भनेका थियौँ’, उहाँले भन्नुभयो, ‘कुटनीतिक रुपमा यो सरकार असफल भएको छ । नाकाबन्दी ओली सरकारले असफल बनाएको होइन । नेपाली जनताले असफल बनाएका हुन् । भारतको विरोध जनताले गर्न थालेपछि भारतले आफै खोलेको हो ।’