पोखरा, २२ असार । कास्कीका विभिन्न ठाउँहरुमा फेरि जमिन भासिन थालेको छ ।
पछिल्लो समय लगातारको अबिरल बर्षाले विशेषगरी पर्यटकीय नगरी पोखराको अर्चलबोटमा जमिन भासिएर भ्वाङै परेको छ । आइतबार परेको अबिरल बर्षाले सोमबार दिउँसो सडक मै भ्वाङ परेको हो । त्यस ठाउँमा पोखरा उपमहानगरपालिकाले नाला निर्माण गरिरहेको थियो । भ्वाङ परेपछि नाला बनाउने काम समेत रोकिएको नगरपालिकाका इञ्जिनियर महेन्द्र गोदारले जानकारी दिए ।
उनका अनुसार दिउँसै जमिन भासिन थालेपछि निर्माणमा खटिएका कामदारको भागाभाग भएको थियो ।
यसैगरी पोखरा २ बिन्ध्याबासिनी नजिक पनि पहिरोले एउटा घर पुरेको छ । बर्खा लाग्न थालेपछि पोखरामा बर्षेनी जमिन भासिने र भ्वाङ पर्ने क्रम सुरु हुन्छ । माटो कमजोर भएकाले यस्तो भएको भुगर्भविद्हरु बताउँछन् ।
सेती नदी भन्दा वारिको जमिन कमजोर छ । यहाँ तहगत रुपमा छुट्टाछुट्टै माटो छ । पोखरामा बिगत तीनबर्षदेखि विभिन्न ठाउमा भ्वाङ परेपछि जनधनको क्षति हुने खतरा देखेर सरकारले भौगर्भिक अध्ययन समेत गरिरहेको छ । भ्वाङ परेपछि अर्चलबोटका स्थानीयहरु त्रसित छन् ।













प्रतिक्रिया