काठमाडौं, २० असार । सोमबारदेखि राजधानीमा सुरु भएको नेपाल–भारत प्रबुद्ध समूह(ईपीजी)को प्रथम बैठकमा नेपाली प्रतिनिधित्वबारे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रश्न उठाएका छन् ।
दुबै मुलुकबीच पछिल्लो समय चिसिएको राजनीतिक तिक्ततालाई कम गर्न बिभिन्न द्विपक्षीय एजेण्डामा छलफल हुने बताइएको बैठकमा भारतीय प्रतिनिधित्वको भने महतोले खुलेरै प्रशंसा गरेका छन् ।
सोमबार सञ्चारकर्मीसँग ईपीजी समूह बन्नु सकारात्मक हो भन्दै उनले नेपालले ईपीजीलाई हलुको ढंगले लिएको आरोप लगाए । ‘नेपाल र भारत बीचको राजनैतिक र कुटनीतिक सम्बन्धमा आएको तिक्तता हटाउन, र पछिल्लो केही समय देखि दुबै मुलुक बीच देखिएको चिसोपन हटाउने उद्देश्यले यो ईपीजी समूह गठन गर्ने भनिएको थियो । तर, नेपालको प्रतिनिधित्व हेर्दा यो भार टारेको जस्तो लागेको छ ।’
महतोले नेपाल सरकारले यस समूहबारे गंभीरताले नसोचेको आरोप लगाउँदै भने ‘राजनीतिक समस्याको समाधान राजनीतिक सोच भएको व्यक्तित्वले गर्ने हो ।’ कर्मचारीको भरमा सम्बन्ध सुधार कहिल्यै नहुने महतोको तर्क रहेको छ ।
भारतले आफ्नो तर्फबाट उत्तराखण्डका पूर्व मुख्यमन्त्री र हाल भाजपाका सांसद रहेका भगत सिंह कोशियारीले नेतृत्व गर्दै छन । तर नेपाल सरकारले राजनीतिक व्यक्तित्वको सट्टा पूर्व राजदूत भेषबहादुर थापालाई संयोजक बनाएको छ । महतोले भने– ‘जसरी भारत सरकारको तर्फबाट राजनीतिक व्यक्तित्वलाई जिम्मेवारी दिइएको छ त्यसरीनै नेपाल सरकारले पनि दिनु पर्थ्यो तर यसमा हामी चुकेकै हौं ।’












प्रतिक्रिया