१९ कार्तिक २०८३, बिहिबार

भूसंरक्षणका लागि चौध जिल्लामा रु सात करोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-punrnirman

काठमाडौँ, १९ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आव २०७३-०७४ का लागि भूकम्प अतिप्रभावित १४ जिल्लामा भूसंरक्षणका लागि रु सात करोड निकासा गरेको छ ।

प्राधिकरणले भूकम्पले क्षति पुर्याएको गोरखा, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ लगायत १४ जिल्लामा सो रकम निकासा गरेको हो । भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले आव २०७२-०७३ मा भूकम्प प्रभावित ३१ जिल्लामा रु १६ करोड रकम बराबरको पुनःनिर्माण गरिए पनि आगामी आवलाई रु सात करोड मात्र निकासा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगामी आवका लागि रु सात करोड छुट्याइएको छ तर कुन जिल्लामा कति निकासा गर्ने भन्नेबारे अझै निर्णय हुन सकेको छैन ।”

आव २०७२-०७३ मा जापान सरकारले दिएको ५०० मेट्रिक टन तारजालीमध्ये ३५० मेट्रिक टन भूकम्प प्रभावित १६ जिल्लामा वितरण गरिएको विभागले जनाएको छ । तारजाली वितरण गरिएका जिल्लामा लमजुङ, तनहुँ, कास्की, गोरखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, रामेछापलगायत छन् । विभागले पर्वतीय जलाधारको जलवायु अनुकूलन आयोजनाको कार्यक्रमलाई निरन्तरता दिएको छ । डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ र बाजुरामा जलाधार क्षेत्रभित्रको पानीको सञ्चय र सदुपयोग गर्ने गरी काम अगाडि बढाइएको हो ।

विभागले देशका विभिन्न भागमा गएको बाढी र पहिराको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित जिल्लालाई सञ्चित तारजाली वितरण गर्न पत्राचार गरेको महानिर्देशक उपाध्यायले बताउनुभयो । रासस