१९ कार्तिक २०८३, बिहिबार

संसदमा विनियोजन विधेयकमाथिको छलफल जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौँ, १७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘विनियोजन विधेयक–२०७३’ को विभिन्न शीर्षकमाथिको छलफल जारी रह्यो ।

आजको बैठकमा शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भू–संरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाइ र अर्थ मन्त्रालयमाथिको छलफल भयो ।

छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले बजेटले आर्थिक समृद्धिको ढोका खोलेको, विकास निर्माण प्रक्रियाले फड्को मार्ने भन्दै समर्थन गर्नुभयो भने विपक्षी दलका सांसदले भने जनतालाई आश्वासन दिन मात्र खोजिएको, केही जिल्लामा मात्रै बजेट खन्याइएको भन्दै आलोचना गर्नुभयो ।

सीपमूलक तालिम, शिक्षा, कृषिलगायतका क्षेत्रमा ठूलो मात्रामा रकम विनियोजन गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय विकासका लागि अनुगमनका प्रभावकारी योजना आउन नसकेकामा उहाँहरूले गुनासो गर्नुभयो ।

उहाँहरूले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेर वृद्ध, अशक्त, एकल महिलाको मुहारमा खुसी ल्याएको भए पनि भौतिक पूर्वाधारका योजनामा ध्यान नदिनु गलत रहेको बताउनुभयो । विकास निर्माणका केही योजना राम्रा भए पनि त्यस्ता योजनालाई गुणस्तरीय बनाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसदहरूले शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गर्ने, व्यावसायिक र सीपमूलक तालिमलाई प्रभावकारी बनाई गुणस्तरीयता प्रदान गर्न विशेष योजना बनाई अनुगमन संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले सहरी क्षेत्रको विकासका लागि विशेषखालका योजना बनाएर लागू गर्नुपर्ने, पर्याप्त मात्रामा खानेपानीको व्यवस्था हुनुपर्ने उपलब्ध भएका स्थानमा समेत गुणस्तरीय खानेपानी नरहेको भन्दै तत्काल वैज्ञानिक योजना ल्याउनुपर्ने माग गर्नुभयो ।

सांसदहरूले असुरक्षित देशमा नेपाली कामदार जान रोक लगाई गलत तवरले काम गर्ने वैदेशिक व्यवसायीलाई कानुनको दायरामा ल्याउनुपर्ने, रोजगारीमा गएकाहरूको सुरक्षाको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

वन तथा भूसंरक्षण मन्त्रालय मातहतका कार्यक्रम राम्रा भए पनि त्यसको कार्यान्वयन हुन नसकेको, वृक्षारोपण देखाउनका लागि मात्रै हुने गरेको, वन क्षेत्रमा हुने, आगलागी नियन्त्रणको कार्यक्रम नभएको वन तस्करलाई कारबाही गर्न नसकेकामा गुनासो गर्नुभयो ।

पार्टी र व्यक्तिलाई केन्द्रित गरेर बजेट आएकाले भविष्यलाई सम्बोधन गर्न नसकेको, मुलुकको आवश्यकता र विश्वको परिप्रेक्ष र हाम्रो मौलिकताबाट बजेट च्यूत रहेको भन्दै सांसदहरूले यथार्थताका आधारमा बजेट आउनुपर्ने बताउनुभयो ।

यसरी धारणा राख्ने सांसदहरूमा अर्जुनप्रसाद जोशी, गङ्गालाल तुलाधर, सन्तु दरार्इं, आनन्दी बम, कमला विक, नवीन्द्रराज जोशी, यज्ञराज सुनुवार, ललिताकुमारी रेग्मी, लीलादेवी श्रेष्ठ, भरतकुमार शाह, टुकराज सिग्देल, धनमाया विक, नारायणमान बिजुक्छे, ध्यानगोविन्द रञ्जित, केशरी घर्ती मगर, तारामान गुरुङ, शेषनाथ अधिकारी, पेम्बा लामा, कमलप्रसाद पङ्गेनी, रामकुमार भट्टराई, राजेन्द्रकुमार केसी र हितराज पाण्डेलगायत हुनुहुन्थ्यो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार १९ गते आइतबार ११ः०० बजे बस्नेछ । रासस