घोराही, १७ असार । नेकपा एमाले दाङ जिल्ला कमिटीले जिल्ला सचिव हुकुमबहादुर बस्नेतलाई कमिटीबाट निलम्वन गरेको छ ।
एमाले दाङको विहीबार बसेको सचिवालय बैठकले बस्नेतलाई निलम्वन गर्ने निर्णय गरेको थियो ।
नेकपा एमाले दाङका अध्यक्ष जोगवहादुर राना र पोलिटव्युरो सदस्य भागवत विश्वासी एवं केन्द्रीय सदस्य मेटमणि चौधरीको उपस्थितिमा बसेको बैठकले जिल्लामा छुट्टै कमिटी बनाउने लगायतका गतिविधि गरेको आरोपमा बस्नेतलाई कारवाही गरेको हो ।
तत्कालिन सचिव बस्नेतले गत जेठ १६ गतेका दिन अनाधिकृत रुपमा केही मान्छेहरु जम्मा पारेर आफै कार्यवाहक अध्यक्ष घोषणा गरी पार्टी हित विपरित समानान्तर गतिविधी गरेको र पार्टी कमिटीले गत जेठ १९ र २९ गतेका दिन सोधको स्पष्टिकरणको जवाफ दिनुको साटो अमुक नेताको फेरो समातेर अनुशासनहिन कार्य गरेकाले जिल्ला कमिटीको सचिव र जिम्मेवारीबाट निलम्वन गरेको जिल्ला प्रचार विभाग प्रमुख श्याम डाँगीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकले हुकुम बहादुर बस्नेतको भ्रममा परी कुनै पनि काममा सामेल नहुन कार्यकर्ता र पार्टी पंङ्तीलाई सचेत बनाइएको छ । नेकपा एमाले दाङले पार्टी हित विपरित कार्य गरेको भन्दै गत जेठमा जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीलाई पनि कारवाही गरेको थियो ।
बिहीबार बसेको बैठकले आगामी भदौको २५ गते देखि गर्ने १२ औं जिल्ला अधिवेशनका लागि विभिन्न उप समिति गठन गरेको छ । जसमध्य जिल्ला अध्यक्ष जोगवहादुर राना, उप सचिव बामदेव खनाल, संगठन विभाग प्रमुख हिराचन्द्र केसी, श्याम डाँगी, देवराज विश्वकर्मा र सीमा न्यौपाने रहेको प्रतिवेदन लेखन उप समिति गठन गरिएको छ ।
यस्तै प्रतिनीधि व्यवस्थापन उप समिति गठन गरिएको छ। जसमा प्रमुख हिराचन्द्र केसी र कुलवहादुर केसी, शान्ता चौधरी, अमर वली, देवराज विश्वकर्मा र सावित्रा विकलाई जिम्मा दिइएको छ । यस्तै श्याम डाँगीको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन गरिएको छ । बैठकले स्वयमसेवक परिचालनका लागि प्रमुखमा मेघराज भुषाल र पदम केसी, गेहेन्द्र बस्नेत, सुदन केसी र प्रेम बुढालाई जिम्मेवारी दिएको छ । यस्तै आर्थिक विभाग उप समितिमा प्रमुख केशव न्यौपाने र खगेन्द्र पोख्रेल, नारायण छम्पाली र गेहेन्द्र बस्नेतलाई जिम्मा दिइएको छ ।
जन परिचालन उप समितिमा सवै जन संगठनका प्रमुखहरुलाई राखिएको प्रचार प्रमुख डाँगीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकमा पार्टीले थालेको एक महिने अभियानको समिक्षा गरेको थियो । यस्तै पार्टीको प्रदेश स्तरिय कार्यक्रम असारको १८ गतेका दिन गर्ने भनिएकोमा सो भेला स्थगित भएकाले सवैलाई जानकारी गराउने निर्णय पनि गरेको थियो ।
बैठकमा पार्टीका पोलिटव्युरो सदस्य भागवत विश्वासी, केन्द्रीय सदस्य मेटमणि चौधरी, केन्द्रीय कमिटीका पूर्व सल्लाहकार परिषदका सदस्य छविलाल वली, एमाले प्रदेश नं. ५ का सदस्यहरु टोपेन्द्र केसी र टिकाराम खड्काले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।












प्रतिक्रिया