काठमाडौं, ९ असार । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका ३६ जनाको सम्पत्तिको खोजी सुरु गरेको छ ।
आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका ३६ जनाको बिगो कायम गर्न अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूको सम्पत्ति विवरण संकलन सुरु गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गत माघमा पक्राउ परेका १७ चिकित्सकले नक्कली चिकित्सकका रूपमा काम गरी ठगी गरेको रकम नखुलाउँदा १६ जना न्यून धरौटीमा मुक्त भएका थिए । दोस्रो अपरेसनमा पक्राउ परेकाहरूले गरेको ठगीको रकम नखुलाउंँदा सामान्य धरौटीमा मुक्त हुने देखिएपछि प्रहरीले उनीहरू चिकित्सक भएपछि आर्जन गरेको सम्पत्तिको विवरण संकलन थालेको हो ।
पक्राउ परेका नक्कली चिकित्सकमाथि प्रहरीले ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगीको महल २ मा टेकेर आफ्नो पहिचान ढाँटेर आफ्नो फाइदा र अरूको घाटाका लागि काम गरी ठगी गरेको अभियोग लगाएकाले कैद र सजायको मागका लागि बिगो आवश्यक पर्छ ।
ब्युरो प्रमुख डीआईजी नवराज सिलवालका अनुसार पक्राउ परेका चिकित्सकमाथिको अभियोग पुष्टिका लागि चार तहको प्रमाण संकलन भइरहेको छ । उनका अनुसार चिकित्सकका रूपमा काम गर्न उनीहरूले पेस गरेको शैक्षिक प्रमाणपत्रको वैधताको पुष्टि भइसकेको छ ।
‘उनीहरूले योबीचमा आफ्नो पहिचान ढाँटेर कति जनाको स्वास्थ्यमाथि खेलबाड गरेर कति कमाए भन्नेसमेत अनुसन्धानको दायराकै विषय हो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले कान्तिपुरसँग भने, ‘मेडिकल काउन्सिलबाट अनुमति लिएर चिकित्सकका रूपमा काम सुरु गरेको दिनदेखिको सम्पत्ति विवरण संकलन सुरु भइसक्यो ।’
ब्युरो अधिकारीका अनुसार उनीहरूविरुद्ध आएको जाहेरी, उपचारका क्रममा अंगभंग भएका वा ज्यान गुमाएको निवेदन र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक बनेर गरेको कामको विवरण संकलनसँगै आर्थिक हैसियत र त्यसको स्रोतको खोजीलाई समेत ब्युरोले अनुसन्धानको दायरामा ल्याएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकका रूपमा कार्यरत रहेकाहरूमध्ये १५ वर्षदेखि विभिन्न संस्थामा चिकित्सकका रूपमा काम गरेकाले उनीहरू संलग्न भएको संस्था, हैसियत र त्यहाँ काम गर्दा उनीहरूविरुद्ध कुनै लिखित उजुरी आएको छ या छैन भन्ने पाटो समेत केलाइरहेको सिलवालले बताए ।
सिलवालका अनुसार पक्राउ परेका ३६ सै चिकित्सकविरुद्ध ठगीको जाहेरी आइसकेको छ । त्यसमा थप केही चिकित्सकविरुद्ध उपचारका क्रममा लापरबाही गरेर अंगभंग गराएको निवेदनसमेत आएको छ । स्रोतका अनुसार नर्भिक अस्पताल र बीएन्डबी अस्पतालका कार्यरत अरुणकुमार गुप्ताविरुद्ध २ वटा उजुरी आएका छन् ।
ब्युरो स्रोतका अनुसार बाथको उपचारमा संलग्न गुप्तासँग उपचार गराउँदा हात प्यारालाइसिस भएको एउटा उजुरी आएको छ भने बाथकै उपचारका क्रममा खुट्टामा इन्जेक्सन दिएको र हाल खुट्टा सुन्निएर चल्नै नसक्ने भएको मौखिम उजुरी आएको छ । अन्य चिकित्सकविरुद्ध समेत फोनमार्फत गुनासो आउनेक्रम बढेको र केही बिरामी ब्युरोको सम्पर्कमा समेत आएको ब्युरोका एक अधिकारीले जानकारी दिए ।















प्रतिक्रिया