काठमाडौ, ८ बैशाख । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनवाई समिति कायमै छ भनेर आत्मलोचनासहित माफी नमागेसम्म सरकारले नियूक्तिका लागि सिफारिस गरेका सर्वोच्च अदालतका न्यायाधीश र राजदूतहरुको संसदीय सुनवाई हुन नसक्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीले नै संसदीय सुनवाई समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस रामप्रसाद सिटौलाको नाम फिर्ता लिनु भएको हो । अब कस्ले सुनवाई गर्ने । उहाँले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनि आत्मलोचना नगरेसम्म संसदीय सुनवाई हुन सक्दैन ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा पौडेलले रामप्रसाद सिटौलाको नाम ल्याएपछि मात्रै सुनवाई हुने स्पष्ट पार्दै अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म नियूक्तिकोलागि सिफारिस गरिएका न्यायाधीश र राजदूतहरु पर्खिएर बस्नुपर्ने बताए ।
उनले भने, ‘हामी संविधान संसोधन गरेर सुनवाई समिति गठन गर्ने पक्षमा छैनौ । पुरानै सुनवाई समितिले सुनवाई गर्नु पर्यो नभए नयाँ बनेपछि मात्रै हुन्छ ।’
पौडेलले राजदुत नियूक्तिमा नेपाली कांग्रेसले कुनै पनि नाम सिफारिस नगरेको र काग्रेससँग कसैले सल्लाह पनि नगरेको स्पष्ट पार्दै सरकारले नियूक्तिमा मनपरितन्त्र गरेको आरोप लगाए । उनले पार्टीले सरकारसँग संसद बोलाउन आग्रह गरिसकेको जानकारी दिँदै काग्रेस अब चुप लागेर नबसी शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।
पौडेलले नयाँ संविधान अनुसार अबको १ वर्ष आठ महिनाभित्र करिब ३ सय वटा ऐन संसोधन गरि स्थानीय तहको पुनर्संरचना गरेर गाँउ, जिल्ला, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर राष्ट्रिय सभा गठन गरिसक्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसो गर्नसके अहिलेसम्म प्राप्त उपलब्धि सबै धरापमा पर्ने तर्फ सचेत गराए ।
उनले भने, ‘त्यसको लागि तराई मधेसको स्थिति सहज हुनुपर्यो र सरकारले अहिलेसम्म त्यस विषयमा बास्ता गरेको छैन । मैले सबैलाई सचेत गराईसकेको छु यस्तै अवस्था रहे अहिलेसम्म प्राप्त, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता सबै खतरामा पर्छ । यसको लागि सबै लचक भएर बार्ताको माध्यमबाट समाधान खोज्नुपर्छ ।’
पौडेलले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउने विषयमा नेतृत्व बर्ग गंभिर नदेखिएको आरोप लगाउँदै मुलुक ख्याल ख्याल गर्दै संकटमा पर्ने स्थितिमा रहेको बताए । उनले मुलुक खतरनाक मोडमा पुगिसकेकोले अब मधेससँग बास्तबमै बार्ता गर्नुपर्ने भन्दै यसको लागि सरकारले अग्रसरता लिनुपर्ने सुझाव दिए ।
पौडेलले आन्दोलनबाट मात्रै केही नहुने भन्दै यसमा सरकार, प्रमुख राजनीतिक दल र मधेसी दलहरु गंभिर हुनुपर्नेमा जोड दिए ।
सभापति शेरबहादुर देउवा सरकार ढाल्ने रणनीति बनाउन नयाँ दिल्ली गएको भनि सोधिएको प्रश्नमा उनले भने, ‘उहाँ श्रीमतिको उपचार गर्न जानु भएको हो । श्रीमतिको उपचार गर्न पनि जान नपाउने ? अनावश्यक शंका नगर्नुस ।’













प्रतिक्रिया