
काठमाडौं, २२ फागुन । डडेल्धुरामा शनिबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यो खबरको पुष्टि गरेको छ ।
डडेल्धुराको मणीलेक गाविसबाट जिल्ला सदरमुकामतिर आइरहेको जिप शनिबार राति ८ बजे डा.केआई सिंह राजमार्गको रडुवा खोलामा दुर्घटनामा परको हो ।
से १ ज ७०६ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा चालक मणीलेक गाविस २ का ३० वर्षीय सेरु भुल, मणीलेक गाविस १ का ३२ वर्षीय खड्कराज अवस्थी र वडा नम्बर ३ का ३५ वर्षीय छविलाल अवस्थी रहेका छन् ।
दुर्घटनामा मणीलेक १ का ३५ वर्षीय गणेशराज अवस्थी गम्भीर घाइते भएका छन् ।
जिपमा चालकसहित चारजना सवार थिए । गम्भीर घाइते अवस्थीलाई उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका डडेल्धुराका प्रहरी प्रमुख डीएसपी विपिन कर्माचार्यले सडकबाट ३ सय मिटर तल खसेर जिप दुर्घटनामा परेको जानकारी दिए । उनले टेलिफोनमा दैनिक नेपालसँग भने– कच्ची सडकबाट जिप ३ सय मिटर तल खसेको पाइएको छ । चालकको लापरवाही देखिन्छ ।












प्रतिक्रिया