
– बैकुण्ठ गिरी
पर्वत, २० पुस । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा बाबुराम भट्टराईले भारतीय नाकाबन्दी अमानवीय भएको बताएका छन् ।
सोमबार पर्वतमा नयाँ शक्ति निर्माण अभियानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो जीवनकालमा तीन पटक नाकाबन्दी भएको बताउँदै नाकाबन्दी हुनु नेपालीहरु परनिर्भर हुनुको परिणाम भएको बताए ।
‘नयाँ शक्ती के हो ? आर्थिक समृद्धी कसरी सम्भव छ ?’ लगायतका बिषयमा आयोजित कार्यक्रममा भट्टराईले सत्तामा रहेका राजनीतिक दलहरु भारतका अगाडि पछाडी गर्ने र जनताको दिमाग अन्यत्र मोड्नको लागि अरुलाई दलाल भन्ने गरेको बताउँदै उनले यो बिषयमा टिप्पणी गर्न नचाहेको बताए ।
नयाँ शक्तिको बैचारिक दृष्टिकोण के हुने भन्ने प्रसंगमा बोल्दै भट्टराईले माक्र्सवादको नयाँ प्रयोग, भौतिकवादको सहि कार्यान्वयन नै बैचारिक दृष्टिकोण हुने बताए । हामी आर्थिक रुपमा कमजोर भएकोले दुई शक्तिशाली छिमेकी चिन र भारतको चपेटा परेको भन्दै उनले आर्थिक समृद्धिबिना प्रतिस्पर्धा सम्भव नभएको बताए । आफूलाई संबिधान बिरोधी भन्दा दुःख लागेको बताउँदै भट्टराईले मेरो जीवनकालमा म जति शान्ति र संबिधानको लागि कोहि समकालिन नेता नलागेको बताए ।
देशैभर संबिधानको बहस चल्दा बाबुरामले यसको ब्याख्याता देख्दा अचम्म लागेको भन्दै पूर्ब पञ्च, राजावादी तथा हिन्दूराज्यका अगुवा कमल थापा धर्मनिरपेक्ष राज्यको प्रचारक तथा संघीयताका कडा बिरोधी चित्रबहादुर केसी संघीय नेपालको प्रचारक भएपछि आफूले किन ब्याख्या गर्नुपर्यो भन्दै ब्यग्य गरे ।
कमल थापा र बाबुराम भट्टराई एउटै प्लेनमा
आज पर्वतमा आयोजना भएको नयाँ शक्ति निर्माण अभियानमा आफ्ना धारणा राख्न आउँदा नेपाल सरकारका उपप्रधानमन्त्री तथा पूर्वपञ्च कमल थापा र नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराई एउटै प्लेनमा पोखरासम्म आएको आफैले बताए । हाँसो गर्दै भट्टराईले भने– संजोग पनि कस्तो आज प्लेनमा कमल थापा र मसँगै भयौं ।
कमल थापालाई भेटेपछि आफूले कता हिड्नु भएको भनेर सोधेको र उहाँले पोखरामा संबिधानको शिक्षण कार्यक्रममा भन्दा अनौठो लागेको बताउँदै थपे– पूर्व पञ्च, राजावादी तथा हिन्दूराज्यका अगुवा कमल थापा धर्मनिरपेक्ष राज्यको प्रचारक तथा संघीयताका कडा बिरोधी चित्रबहादुर केसी संघीय नेपालको प्रचारक हुदाँ म संबिधान बिरोध कसरी भए ?












प्रतिक्रिया