
धनगढी, १९ पुस । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले घोषित सात प्रदेशको सीमांकन कुनैपनि हालतमा हेरफेर नहुने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले धेरै अध्ययन गरेर सात प्रदेशको सीमांकन तयार पारेको र जनताले पनि सात प्रदेशको सीमांकन स्वीकार गरिसकेको कारण यसमा हेरफेर नहुने बताउनुभयो ।
उहाँले विवादित जिल्लामा जनमत संग्रह गर्दा पनि हुन्छ तर त्यो पनि मधेशी मोर्चाले मानेको छैन भन्नुभयो । विवादित जिल्ला कैलाली, कंचनपुर, झापा, मोरङ र सुनसरीलाई कुन प्रदेशमा राख्ने भनेर जनतामाझ जान उपयुक्त हो तर आन्दोलनकारीले त्यो स्वीकार नगरेको उहाँको भनाई छ ।
यो संविधान विश्वकै उत्कृष्ट संविधान हो नेता भट्टराईले भन्नुभयो संविधान समावेशी, समानुपातिक छ तर नीजि स्वार्थका लागि आन्दोलन गरिएको छ । एमालेको प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराईले मधेशमा संविधानबारे गलत प्रचार भईरहेको हुँदा यसको अन्तय गर्न नेकपा एमालेले तीन महिने संविधानबारे प्रचार प्रसार अभियान संचालन गरिरहेको जानकारी दिनुभयो । नेता भट्टराईले तराई मधेशका केही जिल्लामा संविधानबारे प्रचार प्रसार अभियान संचालन गर्दा आन्दोलनकारी सहितका जनताको ठूलो सहभागिता पाएको बताउनुभयो ।
उहाँले मधेशी मोर्चालाई आन्दोलन स्थगित गरेर वार्तामा आउन आग्रह गर्नुभयो । असहमत व्यक्तिलाई टिप्पणी राख्ने ठाउँ संसद छ उहाँले भन्नुभयो सडकमा बसेर जनतालाई दुःख दिएर समस्याको समाधान हुँदैन । उहाँले संविधानसभामा आएर संविधानमा सच्याउनुपर्ने कुराको सुझाव दिन मधेशी नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले मधेशी मोर्चालाई सरकारले बनाएको संविधान संशोधन विधेयक अघि सार्न दिन आग्रह गर्नुभयो ।
सचिव भट्टराईले भारतले लगाएको नाकाबन्दी छिट्टै खुल्ने र देशको स्थिती सहज हुने बताउनुभयो । केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओली भारतमा भ्रमणमा जाँदै छन् त्यसले पनि देशको समस्याको समाधान हुने उनले आशा व्यक्त गरे ।
एक फरक प्रशंगमा बोल्दै सचिव भट्टराईले हालसम्म नेपालको व्यापार एकाधिकार भएकोले अब देशको व्यापारमा विविधीकरण हुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको भ्रमणपछि चीनसँग पारवाहन सम्झौतादेखि लिएर व्यापार सम्झौता पनि हुने बताउनुभयो । नेता भट्टराई दार्चुला, डडेलधुरा लगायतका जिल्लाका हुन लागेको कार्यक्रममा भाग लिन जाने क्रममा कैलाली पुग्नु भएको हो ।












प्रतिक्रिया