– विमल योगी
काठमाडौं, १९ पुस । संघीय लोकतान्त्रिक मञ्च थरुहट पार्टीकी सांसद रुक्मिणी चौधरीले आजको संसद बैठकमा नारावाजी र घेराउ नगरेर रोष्टम प्रयोग गरी संविधान संशोधनको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिनुभएको छ ।
संसदको आजको बैठकमा सांसद चौधरीले आफू सैद्धान्तिक छलफलमा सहभागी भएपनि सदनको बैठक बहिष्कार गरेर जाने बताउनुभयो ।
उहाँले संविधान संशोधनको विधेयकले थारु आन्दोलनकारीको माग पूरा गर्न नसक्ने भन्दै विधेयक फिर्ता लैजान सरकारसँग माग गर्नुभयो ।
‘म थारु आन्दोनलकारी हुँ’, उहाँले भन्नुभयो, ‘सैद्धान्तिक छलफलमा भाग लिएपनि सदनमा बस्दैन । बैठक बहिष्कार गर्छु । जान्छु । सरकारले यो विधेयकलाई फिर्ता लैजानुपर्छ ।’
थारु आन्दोलनकारीका मागलाई बेवास्ता गरिएको भन्दै आक्रोश जनाउनु भएकी सांसद चौधरीले भन्नुभयो, ‘थारु आन्दोलनलाई कम नठानियोस् । थारुको आन्दोलन माघ महिनापछि सशक्त रुपमा अगाडि बढ्छ । आन्दोलन घोषणा भइसकेका छन् ।’
मधेसी मोर्चासँग मिसिएर संसदमा नारावाजी र घेराउ गर्दै आउनु भएकी सांसद चौधरीले आज भने छलफलमा भाग लिनु भएको हो ।
सैद्धान्तिक छलफलमा भाग लिएपछि उहाँले मधेसी मोर्चासँगै नारावाजी गर्ने आफ्नो क्रम भङ्गता तोड्नु भएको छ ।












प्रतिक्रिया