कठमाडौं, १८ पुस । सदभावना पार्टीले उपेन्द्र यादव मधेसी मोर्चाको बैठकमा सहभागी हुँदै आएको भन्दै कुनै विवाद नरहेको दाबी गरेको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसी मोर्चाभित्र कुनै विवाद नरहेको बताउनुभयो ।
‘मधेसी मोर्चाको बैठकमा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आउनु हुन्छ’, उहाँले भन्नुभयो, ‘अबका बैठकमा आउनु भएन भने मलाई थाहा छैन । हामीभित्र कुनै विवाद छैन । उपेन्द्र यादवजीको मनभित्रको कुरा हामीलाई कसरी थाहा हुन्छ ।’
मधेसी मोर्चाभित्र संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच विवाद भएको समाचार सार्वजनिक भइरहेका बेला सद्भावना पार्टीका महासचिव सुमनले मोर्चाभित्र खटपटको संकेत गर्नुभएको हो ।
मधेसी मोर्चाको बैठक तत्काल बस्ने कुनै योजना नरहेको उहाँले बताउनुभयो । ‘भोलि आइतबार बुटवलमा मधेसी मोर्चासहित संघीय गठनबन्धनको कार्यक्रम छ । सुन्धारामा पनि कार्यक्रम छ’, महासचिव सुमनले भन्नुभयो, ‘यी कार्यक्रम नसकिँदासम्म मधेसी मोर्चाको बैठक तत्काल बस्दैन ।’
यसैबीच, सद्भावना पार्टीले अलग रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । तराई मधेसमा जारी आन्दोलनलाई बल पुगाउने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको सुमनले बताउनुभयो । ‘हाम्रो कार्यक्रम मधेसी मोर्चालाई सहयोग गर्ने हो’, उहाँले भन्नुभयो, ‘हाम्रो कार्यक्रममा मधेसी मोर्चाको पनि समर्थन रहन्छ ।’












प्रतिक्रिया