१३ कार्तिक २०८३, शुक्रबार

मोर्चाको ‘एक मधेस एक प्रदेश’को माग कहिल्यै पूरा हुँदैनः एमाले नेता खनाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanal

इलाम, ७ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मधेसी मोर्चाले राखेको ‘एक मधेस एक प्रदेश’को माग पूरा गर्न नसकिने बताउनुभएको छ ।

नेकपा (एमाले) शान्तिपुर गाउँ कमिटीको नवौँ गाउँ अधिवेशनको आज उद्घाटन गर्दै नेता खनालले मधेसी मोर्चाले राखेका जायज मागप्रति सरकार र प्रमुख दल सकारात्मक बनेपनि देश टुक्र्याउने माग सम्बोधन गर्न नसकिने स्पष्ट पार्नुभयो ।

“संविधान संशोधनमा एक मधेस, एक प्रदेश बनाउनुपर्छ भनेर राखेको माग कदापी पुरा हुन सक्दैन, उहाँले भन्नुभयो, “यो देश टुक्र्याउने षड्यन्त्र हो, यसखाले माग कुनै हालतमा पनि पुरा हुँदैनन् ।”

मोर्चाले राखेको जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरिनुपर्छ भन्ने माग ठीक नभएको बताउँदै उहाँले भूगोलको आधारमा मात्र निर्वाचन क्षेत्र कायम हुनसक्ने बताउनुभयो ।

भारतले चार महिनादेखि गरेको अघोषित नाकाबन्दी नेपाली जनताले दृढतापूर्वक सामना गरिरहेकाले अब नेपाली जनताको तागतलाई नाकाबन्दीले नथाम्ने बताउनुभयो ।

यस्तै, उहाँले आजै दिउँसो शान्तिपुरमा मानव सेवा क्लबको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभयो । भवन निर्माणका लागि खनालले सांसद विकास कोषबाट रु १२ लाख रकम प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । रासस